गलेश्वर,-पहिले पहिले लेकबेँसी, गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो चौतारीहरु अहिले नासिँदै गएका छन् । गर्मीमा दौँतरीहरु बसेर शीतल हावा लिँदै माया प्रेमका कुरा गर्ने तथा बागचाल खेल्ने थलोका रुपमा रहेका चौतारीहरु पछिल्लो समय नासिँदै गएका छन् । चौतारी, पोखरी ग्रामीण जीवनको मौलिकता दिने संरचना पनि हुन् । यी मौलिकताका पहिचानहरु हराएसँगै यसबाट लिन सकिने आनन्दबाट पनि अहिलेको पुस्ता वञ्चित हुन पुगेको छ ।
पहिले अहिलेको जस्तो यातायातका साधनहरु नहुँदा भरियाबाट नै सामानहरु बोक्ने काम हुन्थ्यो । ती भरियाले भारी बिसाउने ठाउँ पनि चौतारी नै थिए । भरिया तथा लामो बाटो हिँड्नुपर्ने बटुवाहरुको थकान मेटाउने उचित स्थान पनि यिनै चौतारी नै थिए । यति मात्र नभएर युवायुवतीको माया प्रेम दर्शाउने, पाकापुस्ताहरु एकै ठाउँमा जम्मा भएर यसो दुःखसुखका कुराकानी गर्ने ठाउँ हो, चौतारी ।
त्यस्तै चौपाया हेर्न गएका गोठाला तथा घरायसी काम सेकर फुर्सदिला व्यक्तिहरु पनि भेला भएर बागचाल खेली दिन बिताउन चौतारी नै प्रयोग गर्ने गर्दथे ।
आध्यात्मिक दर्शनमा पनि चौतारीको ठूलो महत्व रहेको छ । यसलाई मानिसले पुण्य कमाउने एक संरचनाका रुपमा पनि लिने गरिन्छ । मानिसहरुले पहिले बाटोघाटो बनाउने, चौतारी चिन्ने, पोखरी खन्ने जस्ता कार्यलाई पुण्य कमाउने कामका रुपमा पनि लिने गर्दथे । ती चौतारीमा वर पीपल सार्ने भएकाले पीपलले अन्य बोटवृक्षको तुलनामा बढी अक्सिजन दिने र उकालो ओरालो हिँडेर र भारी बोकेर स्वाँस्वाँ भई सास फेर्न गाह्रो भएका मानिसलाई चौतारीमा बस्दा त्यहाँबाट आउने अक्सिजनले थकाइ मेट्ने गर्दछ । यसरी यी संरचनाहरु मानिसको स्वास्थ्यसँग पनि जोडिएका छन् ।
नेपालमा पछिल्लो समयमा विकासका नाममा मोटरबाटो खन्ने होडबाजी सुुरु भएपछि भौतिक र आध्यात्मिक जीवनका यी महत्वपूर्ण सम्पदा नाश हुँदै गएका छन् । मोटरबाटोको सुविधा र सवारी साधनको प्रयोगसँगै चौतारीहरु बिर्सिंदै जान थालिएको छ । मान्छेहरु हिँड्डुल गर्न छाडेसँगै चौतारीको महत्व पनि कम हुन थाल्यो । तर चौतारी अस्तित्व र महत्व विकाससँग मात्र होइन पर्यावरण र मान्छेको जीवनसँग पनि जोडिएको हुनाले चौतारीको महत्व र गरिमा कालजयी बनेर रहने पं नीलकण्ठ शर्मा आचार्यले बताउनुभयो ।
उहाँले चार कुना मिलाएर बनाइएको चौतारीमा वर र पिपलसँगै ९नजिकै० रोपिने हुँदा वर र पीपलको बीचबाट हिँड्न नमिलेर दाहिने पारेर हिँड्ने व्यवस्था मिलाइएको बाटो, छेउमा नै कुवा वा धारो र आनन्दसँग बस्न मिल्ने ठाउँमा बागचाल खेल्ने कोठा परम्परागत चौतारोकोे विशेषता भएको बताउनुभयो ।
गर्मी महिनामा गुन्द्री बिछ्याएर आराम गर्दा पाइने ‘स्वर्गीय आनन्द’को एउटै आश्रयस्थल चौतारी हुन् । अब के फेरि पनि पहिलेको जस्तै ब्युँतिएलान् त पुर्खाले बनाएको थकान भुलाउने चौतारी रु अन्यत्र यसप्रति कुनै चासो राखेको नपाइए पनि म्याग्दीमा भने केही जनप्रतिनिधि र सर्वसाधारणले बचेका चौतारीहरुको मर्मत र संरक्षण तथा नयाँ चौतारी निर्माणमा चासो देखाएका छन् । गण्डकी प्रदेश सरकारले पनि पुर्खाले बनाएको चौतारो ब्युँताउने अभियान चलाएको छ ।
चौतारी संरक्षण अभियानमा गण्डकी प्रदेश सरकार-गण्डकी प्रदेश सरकार ऐन नै बनाएर चौतारी संरक्षण गर्ने अभियानमा लागेको छ । गण्डकी प्रदेशसभाले विसंं २०७५ माघ २७ गते स्वीकृत गरेको विधेयकले प्रदेशको मातहतभित्रका कुनै पनि चौतारोमा भौतिक क्षति पु¥याउनुलाई कानुनी रुपमा दण्डनीय कार्यका रुपमा परिभाषित गरेको छ । यसको संरक्षण गर्नु सबैको कर्तव्य भन्दै कसैले यसमा क्षति पु¥याए प्रचलित कानुनबमोजिम दण्ड दिइने व्यवस्थासमेत गरिएको छ ।
यो ऐनले वर, पीपल, समी र चौतारोको संरक्षणमा जोड दिएको छ । ऐनले पुराना चौतारोलाई पुनर्जीवन दिन र नयाँ चौतारो निर्माणमा समेत तीव्रता दिनका लागि एउटा कोषको समेत व्यवस्था गर्न भनेको छ ।
सो कोषमा नेपाल, सरकार, प्रदेश सरकार, स्थानीय तह, विभिन्न व्यक्ति तथा संस्थाले दिएको सहयोग रकमलाई समेत राख्न सकिने र त्यसरी प्राप्त भएको रकम वर पीपल र समी रोप्न, चौतारो निर्माण, चौतारो वरिपरि कुवा कुण्ड वा पोखरी निर्माण गर्न तथा जीर्ण चौतारोको मर्मतबाहेक अरू काममा खर्च गर्न नपाइने स्पष्ट उल्लेख ऐनमा नै गरेको छ ।
यसरी चौतारो निर्माण कार्य सुरु गरेसँगै गण्डकी प्रदेश मातहत गत आर्थिक वर्षमा मात्रै झन्डै २० वटा चौतारो निर्माण भइसकेको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार एउटा चौतारो निर्माणका लागि एक लाख रुपैयाँ विनियोजन गर्ने गरिएको छ ।
स्थानीय तहको अभियान-म्याग्दीका स्थानीय तह र समुदाय पनि पर्यावरणीय र धार्मिक महत्वका चौतारीहरुको संरक्षण, मर्मत र निर्माण कार्यमा जुटेका छन् ।विकास र सुविधाको नाउमा नासिँदै गएका ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षणका लागि यहाँका केही स्थानीय तहहरुले समुदायसँगको सहकार्यमा सामूहिक अभियान सुरु गरेका छन् ।धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग साइनो गाँसिएका वर–पीपल र चौतारी–पोखरीको संरक्षण र मर्मतसम्हारका लागि म्याग्दीका विभिन्न गाउँहरुमा अभियान नै सञ्चालन गरिएको छ ।छवटा स्थानीय तह रहेको म्याग्दीका धौलागिरि गाउँपालिकाबाहेक बेनी नगरपालिका, मङ्गला, मालिक, रघुगङ्गा र अन्नपूर्ण गरी पाँचवटा स्थानीय तहका १४ वटा वडामा वर–पीपल लगाउने र चौतारी–पोखरी निर्माण गर्ने कामले तीव्रता पाएको छ ।
बेनी नगरपालिकालगायत केही स्थानीय तहका वडाहरुले बजेट नै छुट्याएर वर–पीपल र चौतारी–पोखरी संरक्षण, मर्मत तथा निर्माण कार्य गरेका छन् भने कुनै वडामा स्थानीय सामुदायिक वन उपभोक्ता समूह, समुदाय र व्यक्तिगत रुपमा समेत वर पीपल लगाउने र चौतारी पोखरी निर्माण गर्ने काम भइरहेको छ ।
बेनी नगरपालिका–६ ले गत वर्षदेखि वडाभित्र रहेका पुराना वर–पीपल, चौतारी–पोखरी र पँधेरा–कुवाको संरक्षण अभियानमा करिब रु पाँच लाख बजेट खर्च गरेको बेनी नगरपालिका–६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले जानकारी दिनुभयो ।
पुराना सम्पदाको संरक्षणसँगै नयाँ पुस्तालाई जानकारी गराउने गरी वडाभित्र रहेका दशकाँै अगाडिका वर पीपल, चौतारी, पोखरी र धाराको संरक्षण गरिएको उहाँले बताउनुभयो । ग्रामीण वस्तुको महत्व र यसको सुन्दर कायम राख्न वर्षौंपहिले रोपिएका वरपीपल र निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा ९पँधेरा० को संरक्षण र मर्मतमा स्थानीयवासीको चासो बढेको अध्यक्ष बानियाँले बताउनुभयो ।
उहाँका अनुसार एक सय वर्षभन्दा पुराना वरपीपलका रूख रोप्नेहरुको विवरण सङ्कलन गरी परिवारबाटै संरक्षणको प्रयास गरिएको छ ।
गत वर्ष पोखरी संरक्षणका लागि गण्डकी प्रदेशबाट प्राप्त वर–पीपल संरक्षण तथा रोपणका लागि रु तीन लाख र चौतारी तथा कुवाका मर्मतसम्हारका लागि दुई लाख बजेट खर्च गरिएको उहाँले जानकारी दिनुभयो ।
उक्त बजेटबाट थानकपोखरी, जरबुटामा वर–पीपल रोपन र चौतारी निर्माण, छापको घोतघोतको पोखरी संरक्षण गरिएको थियो । वरपीपल रोप्ने, चौतारी पोखरी बनाउनेको अभिलेख राख्ने र वडामा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदाको तथ्याङ्क राख्ने कामसमेत वडाले गरेको छ ।
वडामा अहिलेसम्मको तथ्याङ्कअनुसार ५० भन्दा बढी वरपीपल र चौतारी छन् । त्यसैगरी ५० भन्दा धेरै पानीका कुवा र पोखरी पुरिएको अवस्थामा भेटिएको वडाले जनाएको छ । स्थानीयवासीको सहयोगमा वरपीपल मास्न, काट्न, रूखको मौलिकतालाई बिगार्न नदिने र पुरानो भएर जोखिमपूर्ण अवस्थामा पुगेका रूखको वडा कार्यालयबाट अनुमति लिएर हाँगा काँटछाँट गर्ने जिम्मेवारी दिइएको छ ।रासस
त्यसैगरी बेनी नगरपालिका– ५ पुलाचौरको देउपुर्ने, आँटी पानीपँधेरा सामुदायिक वनमा १०८ वरपीपलका बिरुवा रोपिएको छ । बढ्दै गइरहेको अक्सिजन अभाव र वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले सामुदायिक वन क्षेत्रमा १०८ वरपीपलसहित स्वामी र बेलका गरी १३७ वटा बिरुवा रोपिएको हो ।
देउपुर्ने र आँटी पानीपँधेरा सामुदायिक वन उपभोक्ता समिति र विश्व हिन्दू महासङ्घ बेनी नगरपालिका–५ को सहकार्यमा बिरुवा रोपण कार्यक्रम गरिएको देउपुर्ने र आँटी पानीपँधेरा सामुदायिक वन उपभोक्ता समितिका सदस्य चिरञ्जीवी सुवेदीले जानकारी दिनुभयो ।
यता बेनी नगरपालिका–२ ज्यामरुककोटमा स्थानीयवासी चन्द्रबहादुर कार्कीले आफ्नै निजी लगानीमा १७ वटा चौतारी निर्माण, १७४ ठाउँमा वर पीपल रोपण र आठवटा पोखरी निर्माण गर्नुभएको छ । “मैले यो काम धर्म कमाउने लोभले नभई वातावरणको शुद्धता र बटुवालाई शीतलता प्राप्त होला भनेर गरेको हुँ,” ५६ वर्षीय कार्कीले भन्नुभयो ।
पछिल्लो समय सार्वजनिक ठाउँमा वर पीपल रोप्ने र सडकको छेउछाउ वा गोरेटो बाटोको नजिक चौतारी बनाउने क्रम बढ्दै गएकामा गाउँका वृद्धवृद्धाहरुले प्रसन्नता व्यक्त गरेका छन् ।धार्मिक मान्यताअनुसार पनि चौतारी निर्माण गरेर वर पीपल, बेल, समी र तुलसी रोप्ने कार्य अत्यन्त फलदायी भएको मानिएको छ । चौतारी निर्माण गरेर वर र पीपल लगाइसकेपछि वर र पीपलको विवाह गरिदिने प्रचलन पनि रहेको छ । पछिल्ला दुई वर्षयता म्याग्दीमा मन्दिर निर्माण र चौतारी पोखरी संरक्षण अभियानले तीव्रता पाएका स्थानीयवासीहरुको भनाइ रहेको छ । यस्ता कार्यहरुले एकातिर धेरैलाई सुविधा पुग्ने र अर्कोतर्फ मानसिक सन्तुष्टि पनि मिल्ने भएकाले व्यक्तिगत वा सामूहिक रुपमा पनि पछिल्ला वर्षहरुमा चौतारी पोखरी निर्माण गर्ने क्रम बढ्दै गएको हो । यसका साथै यस्ता कार्यहरुले सामाजिक सौहार्द्रपूर्ण रुपमा, एकता र आपसी सम्बन्ध सुधारमा समेत सघाउ पु¥याउने स्थानीय पाका नागरिकको भनाइ छ ।