मन्त्री सुवेदीले माला र उपहार नलिने, पदमा रहँदाको तलब सार्वजनिक गर्ने — OSNepal

मन्त्री सुवेदीले माला र उपहार नलिने, पदमा रहँदाको तलब सार्वजनिक गर्ने

LC (KTM) September 21, 2021 0

चितवन-बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले पहिलो पटक आफ्नै आचारसंहिता जारी गरेका छन् । बागती प्रदेश सरकारबाट जारी गरिएको मन्त्री तथा पदाधिकारीहरूको आचारसंहिता, २०७८ को अधीनमा रहेर उक्त आचारसंहिता लागू गरिएको हो ।

बाग्मती प्रदेश सरकार सामाजिक विकासमन्त्रीको आचार संहिता, २०७८ मा मन्त्री सुवेदीले ३ असोजमा हस्ताक्षर गरी लागू गरेका हुन् । मन्त्रीको कार्यसम्पादनलाई नैतिकता, सदाचार, मीतव्ययी र आचरणयुक्त तुल्याई प्रदेश सरकार र जनताप्रतिको जवाफदेहितामा अभिवृद्धि ल्याउन उनले आचारसंहिता जारी गरेका हुन् ।

मन्त्रीको कार्यसम्पादनलाई व्यवस्थित, योजनाबद्ध, पारदर्शी र प्रभावकारी तुल्याउन पनि आचारसंहिता लागू गरिएको मन्त्री सुवेदीले बताए । आचारसंहितामा मन्त्रीले पालना गर्नुपर्ने १५ वटा बुँदा समेटिएको छ । आचारसंहिताको अनुगमन तथा मूल्यांकन र आवश्यक सुझावका लागि आमसर्वसाधरणलाई अनुरोधसमेत गरिएको छ । आचारसंहिता उल्लंघन भएको पाइएमा सकारात्मक सुझावसहितको जानकारी गराउन उनले आग्रह गरेका छन् ।

आमन्त्रित गरिएका कुनै पनि कार्यक्रममा सहभागी हुँदा तोकिएको सयममा पुग्ने कुराको सुनिश्चितता गर्ने, आयोजकबाट फूलको गुच्छाबाहेक अन्य खादा, माला तथा उपहार आदि ग्रहण नगर्ने मन्त्री सुवेदीले प्रतिबद्धता जनाएका छन् । त्यसैगरी कार्यक्रममा सम्बोधन गर्दा तोकिएको समयभित्र निर्धारित विषय वस्तुहरूमा मात्र बोल्ने, कुनै पनि व्यक्ति वा संस्थाबाट व्यक्तिगत तथा पारिवारका सदस्यको प्रयोजनका लागि प्रदान गरिएका कुनै पनि उपहार ग्रहण नगर्ने र मन्त्रीको हैसियतमा नियमअनुसार प्राप्त हुने सुविधाबाहेक अन्य कुनै प्रकारका सेवा सुविधा नलिने आचारसंहितामा उल्लेख गरिएको छ ।

व्यक्तिगत प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोग नगर्ने, तोकिएको भन्दा बढी सुरक्षाकर्मी नलिने र सुरक्षाकर्मीलाई निजी काममा परिचालन नगर्ने मन्त्री सुवेदीले जारी गरेको आचारसंहितामा उल्लेख गरिएको छ । त्यस्तै, मन्त्री पदबाट हट्दाको दिन मन्त्रालयबाट आफूले प्राप्त तथा प्रयोग गरेका सम्पूर्ण भौतिक सुविधाहरू फिर्ता गर्ने र मन्त्री रहेको अवधिमा बुझेको पारिश्रमिकको विवरणसमेत सार्वजनिक गर्ने कुरा आचारसंहितामा समेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर