काठमाडौं ७ जेठ । परराष्ट्रमन्त्री तथा नेकपा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आफुहरु बाहेकको नेतृत्वको सरकारको कल्पना पनि नगरेको बताएका छन् । आज बिहान एक कार्यक्रममा बोल्दै ज्ञवालीले यदि जनता समाजवादी पार्टीले साथ दिए आफ्नो सरकार बहुमतको सरकार हुने बताउँदै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी ओलीकै नेतृत्वमा सरकार गठन गर्न जसपासँग छलफल गरिरहेको बताएका ज्ञवालीले भने, ‘उहाँहरुले पहिले पनि सत्ताभन्दा हाम्रा मागहरु मुख्य हुन भन्ने गर्नुभएको थियो । तिनै विषयमा बढी कुराकानी भईरहेको छ ।’जसपाका अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा सरका बनाउने विषयमा कुने छलफल नभएको दावी गरेका ज्ञवालीले अघि भने, अहिले हामी बाहेकको नेतृत्वको सरकारको कल्पना गरेका छैनौं । त्यो दिशामा जाँदैनौं ’ ।
प्रधानमन्त्री ओलीले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठन गर्न सिफारिस गरेपछि राष्ट्रपतिले नयाँ सरकार गठनको लागि विपक्षीदलहरुलाई आज साँझ सम्मको समय दिएकी छन् ।