कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या बढ्दै गएपछि सङ्क्रमण घट्दै गयो — OSNepal

कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या बढ्दै गएपछि सङ्क्रमण घट्दै गयो

LC (KTM) September 20, 2021 0

झापा, ४ असोज – कोडिभ– १९ को सङ्क्रमण दर जिल्लामा घट्दै गएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या बढेको कारण सङ्क्रमण घट्दै गएको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगेन्द्र घिमिरेले बताउनुभयो । उहाँका अनुसार कोभिडका बिरामी अस्पतालमा समेत घटेका छन् । दुई महिना अघिसम्म दैनिकजसो कोभिड–१९ को कारण चारदेखि पाँच जनासम्मको मृत्यु हुने गरे तापनि हाल आएर एक वा दुईको मात्र मृत्यु भइरहेको उहाँले बताउनुभयो ।

झापामा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५९८ जना पुगेको छ । दैनिकजसो जिल्लाका विभिन्न पालिकामा एन्टिजेन परीक्षण भइहरको छ । हालसम्म एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या १९ हजार २७९ जना रहेका छन् । मेची कोभिड अस्पताल र कनकाई पिसीआर ल्याबमा गरी ८४ हजार ३१ जनाको पिसीआर परीक्षण गरिएको स्वाथ्य कार्यालयले जनाएको छ ।

झापामा कूल सङ्क्रमितको सङ्ख्या २४ हजार १० पुगेकोमा एक हजार २४५ जना अस्पताल र होम आइसोलेसनमा रहेका छन् भने २२ हजार ५०१ जना निको भएर घर पठाइएको उहाँले बताउनुभयो । “विगतमा एकै दिन कोडिभ–१९ बाट सङ्क्रमित हुनेको दर ३०० सम्म पुग्थ्यो”, उहाँले भन्नुभयो, “खोप लगाउन सुरु गरेसँगै सङ्क्रमितको दर घटेर ८० देखि ९० मा झरेको छ ।” जिल्लामा हालसम्ममा एक लाख ६२ हजार ६८० ले पूर्ण खोप लगाइसकेका प्रमुख घिमिरेले बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर