काठमाडौँ ४ असोज । संखुवासभा सामूहिक हत्या प्रकरणका मुख्य योजनाकार पक्राउ परेका लोकबहादुर कार्कीको काका खड्गबहादुर कार्की भएको प्रहरीको अनुशन्धानबाट खुल्न आएको छ ।
हत्याको आशंकामा प्रहरीले थप चार जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बुबा रणबहादुर कार्की, भाइ नरेश कार्की, काका खड्गबहादुर कार्की र उनका छोरा हस्तबहादुर कार्की रहेका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार हत्या अघिल्लो दिन राति ८ बजे खड्गबहादुरसहित हस्तबहादुर, लोकबहादुर र नरेश मिलेर तेजबहादुर कार्कीको हत्याको योजना बनाएको बताइएको छ । भोली पल्ट बिहान खेताला खोज्न हिडेका तेजबहादुरको बाटौमै हत्या गरिएको थियो ।
गत भदौ २१ गते संखुवासभाको मादी नगरपालिका–१ मादीको उम्लिङ खोला गाउँमा तेजवबहादुर कार्की सहित उनको ६ जनाको परिवारको हत्या भएको थियो । हत्या हुनेमा ५२ वर्षीय तेजबहादुर सहित उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमा रहेकी थिइन् ।