संखुवासभा हत्याकाण्ड : थप चारजना सार्वजनिक — OSNepal

संखुवासभा हत्याकाण्ड : थप चारजना सार्वजनिक

LC (KTM) September 20, 2021 0

संखुवासभा, ४ असोज-संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चारजना पक्राउ परेका छन् ।प्रहरीले घटनास्थल मादी-१ उम्लिङ खोला गाउँबाट हत्याकाण्डका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की,२८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय संखुवासभाले हत्यामा संलग्न थप चारजनालाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

गत २१ भदौ बिहान २१ भदौमा उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति दीपेन र नातिनी गोमाको हत्या भएको थियो । एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ ।

मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि प्रहरीको अनुसन्धान टोली पुन: घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान गर्ने शुक्रबार संघीय इकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल खोला गाउँ पुगेको थियो ।

लोकबहादुरको बयानका आधारमा थप चारजना पक्राउ गरेको डिएसपी सुवेदीले बताए । पक्राउ परेका चारैजनामाथि म्याद थप गरेर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजना मृतक तेजबहादुरका छिमेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर