शिवनाथ गाउँपालिकाका जनप्रतिनिधिसहित नौ जनामा कोरोना सङ्क्रमण पुष्टि , गाउँपालिकाका सेवा बन्द — OSNepal

शिवनाथ गाउँपालिकाका जनप्रतिनिधिसहित नौ जनामा कोरोना सङ्क्रमण पुष्टि , गाउँपालिकाका सेवा बन्द

LC (KTM) May 21, 2021 0

बैतडी- बैतडीको शिवनाथ गाउँपालिकाका जनप्रतिनिधिसहित नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिकाका अध्यक्ष कर्ण साउद, उपाध्यक्ष कुस्मा चन्दसहित गाउँपालिका अन्य सात कर्मचारीमा कोरोना पुष्टि भएको हो । केही दिनअघि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका उपाध्यक्ष चन्दले जानकारी दिनुभयो । सङ्क्रमण पुष्टि भएका सबै होम आइसोलेशनमा छन् । सङ्क्रमित सबैको अवस्था सामान्य रहेको उपाध्यक्ष चन्दले बताउनुभयो । जिल्ला बाहिर कतै नगएको र गाउँपालिकाकै काममा रहेका बेला सङ्क्रमण भएको हुनसक्छ उहाँले भन्नुभयो, “सङ्क्रमण देखिएका हामी सबैको अवस्था सामान्य छ, लक्षण खासै देखिएका छैनन् ।”

सङ्क्रमितले जडीबुटी सेवनमा जोड दिएको बताएका र छिट्टै सङ्क्रमण निको हुने बताएका छन् । सबै होम आइसोलेशनमा रहेका र हामी छिट्टै कोरोना जितेर काममा फर्किने गाउँपालिकाका अध्यक्ष साउदको विश्वास रहेको छ । उहाँले भन्नुभयो, “लक्षण केही छैनन्, अवस्था सामान्य नै छ, जडीबुटी सेवनमा जोड दिएका छौँ, छिट्टै सङ्क्रमणमुक्त हुन्छौँ ।”

जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा जेठ १७ गतेसम्म बन्द रहेका जनाएको छ । सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि भन्दै गाउँपालिकाका सेवा बन्द गरिएका हुन् । गाउँपालिकामा हालसम्म ८१ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह महताले बताउनुभयो । कोरोना सङ्क्रमणबाट बच्नका लागि अनिवार्यरूपमा जनस्वास्थ्यका मापदण्ड पालना गरिदिनसमेत गाउँपालिकाले अनुरोध गरेको छ । यसका साथै जिल्ला प्रशासन कार्यालयले पनि जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर