विश्वमै अति दुर्लभ मानिने सालकको वासस्थानमा सफाइ — OSNepal

विश्वमै अति दुर्लभ मानिने सालकको वासस्थानमा सफाइ

LC (KTM) September 20, 2021 0

काठमाडौं- विश्वकै पहिलो भनिएको कीर्तिपुर मच्छेगाउँ अवस्थित सालक पदमार्गमा सेप्टेम्बर १८ मा विश्वभर मनाइने गरेको सफाइ दिवस (क्लिनअप डे) मनाइएको छ ।

सो अवसरमा मच्छेगाउँको बाघभैरव सामुदायिक वनदेखि चम्पादेवी डाँडासम्मको ‘सालक पदमार्ग’ मा मार्गमा फालिएका नकुहिन फोहोर सहभागीहरूले धोक्रामा संकलन गरे । झण्डै दुई किलोमिटर वरपरको क्षेत्रमा फालिएको फोहोर संकलन गरिएको थियो ।

‘प्रकृति र प्राणीको अन्योन्याश्रित सम्बन्धलाई मानवीय हेलचेक्र्याइँले व्यवधान गरेको छ,’ आयोजक संस्थाका दिव्यराज दाहालले भने, ‘यो क्षेत्र सालक तथा अन्य धेरै प्राणीको वासस्थान भएकाले तीनको वासस्थानमा फोहोर गर्नु हुन्न भन्ने सन्देश कार्यक्रममार्फत दिने प्रयास गरेका छौं ।’

संस्थाकी अध्यक्ष सुचिता श्रेष्ठले फाउन्डेसनले साना स्तनधारी प्राणीको संरक्षणमा विगतदेखि नै चासो राख्दै कार्यक्रमहरू गर्दै आएको जनाउँदै संरक्षण शिक्षा र चेतनालाई उजागर गर्न सफाइ अभियान आयोजनामा गरिएको बताइन् ।

सफाइ अभियानमा सहभागी भएका मिरा राई इनिसियटिभका सदस्यहरूले यस अभियानले आफूहरूले प्राणी संरक्षण तथा वासस्थानको सुरक्षा गर्नुपर्ने शिक्षा ग्रहण गर्न पाएको बताए ।

सफाइ अभियानका लागि मच्छेगाउँ पुगेका सहभागीहरूले नदी सफाइ अभियान चलाएजस्तै मानवीय क्रियाकलापले काठमाडौं वरपरका जंगल पनि फाहोर हुँदै गएकाले सफाइ अभियान चलाउनुपर्ने धारणा व्यक्त गरे । अभियानमा बाघभैरव सामुदायिक वनका सदस्यहरूको पनि सहभागिता रहेको थियो ।

साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनले बाघभैरव सामुदायिक वन, तामाङ सुधार समाज, तामाङ महिला उत्थान समाज, एनसिएससी, रोस्ट्रयाक क्लब, नगरपालिका, इओसिएलगायतको संस्थाको संयुक्त आयोजनामा गरेको कार्यक्रममा युवा संरक्षणकर्मी तथा विद्यार्थीको उपस्थिति थियो ।

नेपालमा सालक

कमिला, धमिराको संख्यालाई नियन्त्रण गर्न सालकले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यसले माटो खन्ने, प्वाल पार्नेलगायतको कार्यले माटोमा अक्सिजन प्रवाह भई माटोको उर्वरा शक्ति बढ्छ । सालकले प्वाल पार्ने कार्य गर्दा सर्पलगायतका जिवलाई वासस्थान उपलब्ध हुन्छ ।

लजालु स्तनधारी जन्तु सालक किसानका साथी मानिन्छन् । सालकले मानिसलाई हानी गर्दैन । कीरा र कमिलालाई आहारा बनाउने सालकको संख्या भने घटिरहेको अनुमान छ ।

विश्वमै अति दुर्लभ मानिने सालक नेपालमा कालो र तामे गरेर दुई प्रकारका पाइन्छन् । यसमा चाइनिज सालक भनेर चिनिने कालो सालक अति संकटापन्न सूचीमा छ । नेपालका ६२ वटा जिल्लाहरूमा सालक पाइन्छन् ।

विश्वमा एसिया र अफ्रिका महादेशमा मात्र सालक पाइन्छ । जम्मा ८ प्रजातिका सालक मध्ये २ प्रजातिको सालक नेपालमा पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर