२४ घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित झापामा — OSNepal

२४ घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित झापामा

LC (KTM) September 20, 2021 0

विराटनगर-पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ झापामा सबैभन्दा बढी १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्थानीय पालिकामध्ये सबैभन्दा बढी मोरङको विराटनगरमा ७१ जनामा कोरोना सङ्क्रमण भएको पाइएको छ ।

सोही अवधिमा मोरङमा ९९, सुनसरीमा ७३, इलाममा आठ, धनुकटा र प्रदेश बाहिरका तीन–तीन जनामा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा कूल ३१३ जनामा कोरोना सङ्क्रमण भएको छ । एक हजार १३५ जनाको पिसीआर परीक्षण गर्दा २८७ र १८९ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

कोरोना सङ्क्रमित झापाको १२ वटा पालिकाअन्तर्गत दमकमा २७, कनकाईमा १९, बिर्तामोडमा १७, मेचीनगरमा १०, अर्जुनधारामा आठ, शिवसताक्षीमा छ, भद्रपुर, बुद्धशान्ति र झापा गाउँपालिकामा तीन–तीन, गौरादह र कमल गाउँपालिकामा दुई–दुई, बाह्रदशीमा एक, मोरङको केराबारीमा आठ, पथरी शनिश्चरेमा छ, सुन्दरहरैँचामा चार, उर्लाबारीमा तीन, बेलबारी, बुढीगङ्गा र लेटाङमा दुई/दुई, रतुवामाईमा एक गरी नौवटा पालिकामा कोरोना सङ्क्रमित देखिएका छन् ।

यस्तै सुनसरीको इटहरीमा ६५, बराह क्षेत्रमा चार, रामधुनीमा दुई, गढी र स्थानीय तह नखुलेका एक/एक, इलामको रोङमा छ, देउमाई र सूर्योदयमा एक/एक, धनकुटाको चौबीसेमा दुई, महालक्ष्मीमा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आजै २४७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ११२ महिला र १३५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई महिलासहित पाँच जनाको मृत्यु भएको मन्त्रालयको भनाइ छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर