नौ हजार २५० क्याप्सुल प्रतिबन्धित औषधिसहित दुई युवा पक्राउ — OSNepal

नौ हजार २५० क्याप्सुल प्रतिबन्धित औषधिसहित दुई युवा पक्राउ

LC (KTM) September 19, 2021 0

सुनसरी, ३ असोज-जिल्ला प्रहरी कार्यालय सुनसरीले दुई जना युवालाई ठूलो मात्राको प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ ।
गत ३१ भदौमा इनरुवा- ३ स्थित पूर्व-पश्चिम राजमार्गमा पर्ने सखुवागाछीमा जाँच गर्ने क्रममा कुल नौ हजार २५० क्याप्सुल ट्रमाडोलसहित धरान- ७ का ३० वर्षीय सन्तोष लिम्बू र धरान- ८ का २८ वर्षीय सविन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश नं. १-०२-०४५प ११८३ लेखिएको पल्सर मोटरसाइकलमा सवार उनीहरूलाई रोकेर जाँच गर्दा प्रतिबन्धित औषधि ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल ठूलो परिमाणमा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि औषधि व्यवस्था विभाग विराटनगर पठाइएको सुनसरी प्रहरीले जनाएको छ ।त्यस्तै, सुनसरीको कोसी गाउँपालिका- ७ सप्तकोसी नदीको किनारको झाडीमा ६० किलो बेवारिसे गाँजा प्रहरीले फेला पारेको छ । चारवटा प्लास्टिकका बोरा झाडीमा मुख बाँधिएको अवस्थामा फेला परेको जानकारी प्रहरीलाई आएको र खोलेर हेर्दा सो परिणामको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर