दमौली, ३ असोज – कोरोना सङ्क्रमितको उपचार गर्नका लागि तनहुँको देवघाट गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल बन्द भएको छ । गाउँपालिकास्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिको बैठकले उक्त अस्पताल बन्द गर्ने निर्णय गरेको हो ।गाउँपालिकाभित्र पछिल्लो समय कोरोना सङ्क्रमणको प्रभाव न्यून हुँदै गएको र भएका सङ्क्रमितलाई पनि अस्पतालमा राख्नुपर्ने स्थिति नभएकाले समितिले अस्थायी कोभिड अस्पताल बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो ।
अस्पताललाई हाल बन्द गरी अन्य प्रयोजनमा ल्याउने र फेरि सङ्क्रमितको सङ्ख्या बढेर बिरामी राख्नुपर्ने स्थिति आएमा पुनःसञ्चालन गरिने उहाँले बताउनुभयो । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन हरेक हप्ताको आइतबार पीसीआर परीक्षण गरिने तथा दैनिक एन्टिजेन परीक्षण गर्ने तयारी गरिएको छ ।
गाउँपालिकामा हालसम्म ५५३ जनाको पीसीआर परीक्षण गर्दा २१ जना महिला र ३३ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख प्रदीप बुढाथोकीले जानकारी दिनुभयो । त्यस्तै एन्टिजेन विधिबाट १५३ को परीक्षण गर्दा छ जना महिला र नौ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । (रासस) ः