प्रधानमन्त्री देउवाद्धारा संविधान दिवसको शुभकामना — OSNepal

प्रधानमन्त्री देउवाद्धारा संविधान दिवसको शुभकामना

LC (KTM) September 19, 2021 0

काठमाडौँ, ३ असोज – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताउनुभएको छ ।

साताँै संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर्नु आवश्यक रहेको उल्लेख गर्नुभएको छ । मुलुकको अग्रगामी परिर्वतनका लागि अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री देउवाले परिवर्तनका लागि भएका संघर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोर्नुभएका व्यक्तिलाई उच्च सम्मानपूर्वक स्मरण गर्नुभएको छ । साथै उहाँले प्राकृतिक विपद् र कोभिड–१९ को महामारीबाट अकालमा ज्यान गुमाउन पुगेका दिदीबहिनी तथा दाजुभाईलगायत सबैमा श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।

नेपाली कांगे्रसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको सरकारका पालामा संविधानसभाबाट विसं २०७२ असोज ३ गते घोषणा भएको नेपालको संविधान लामो संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । “कांग्रेसको नेतृत्वमा सबै दल तथा नागरिकको सहयोगमा मुलुकमा क्रमशः शान्ति स्थापना, संविधान निर्माण तथा सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन भइ संविधान कार्यान्वयन गरेको सर्वविदितै छ । यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ”, शुभकामना सन्देशमा उल्लेख छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर