सुदूरपश्चिम प्रदेशमा थप ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु — OSNepal

सुदूरपश्चिम प्रदेशमा थप ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

LC (KTM) September 18, 2021 0

बैतडी, २ असोज- सुदूरपश्चिम प्रदेशमा आज थप ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९२७ जनाको नमूना परीक्षण गर्दा ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

छयालीसमध्ये ४४ जनामा पीसीआर र दुई जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा ३८ र डडेल्धुरा अस्पतालमा छ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा दुई जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर १९ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको पुर्नवास नगरपालिकाका ५० वर्षीय पुरुष रहेका छन् । यसअघि शुक्रबार सुदूरपश्चिमका ३० जनामा सङ्क्रमण पुष्टि हुँदा १८ डिस्चार्ज भएका थिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर