राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना राउटे बस्तीको निरिक्षणमा — OSNepal

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना राउटे बस्तीको निरिक्षणमा

LC (KTM) September 18, 2021 0

कर्णाली, २ असोज – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहयोग गरेर मात्र राउटे समुदायको जीवनस्तरमा सुधार आउन नसक्ने भएकाले राज्यले दिगो ढङ्गले सोच्नुपर्ने बताउनुभएको छ । हाल बेलायतमा रहेका पर्वत जिल्लाका समाजसेवीले राउटे समुदायका लागि पठाएका सहयोग सामग्री हस्तान्तरण गर्दै उहाँले राउटेका लागि राज्यले बेग्लै नीति बनाउन जरुरी भइसकेको छ भन्नुभयो ।

“राउटेलाई पैसा र सरसामान दिएरमात्र तिनको जीवनस्तरमा सुधार हुँदैन, यस्तो सहयोग दुरुपयोग हुन थालेको सुनिने गरेको छ”, सहयोग सामग्री हस्तान्तरण गर्न सल्यानको वनगाड कुपिन्डे नगरपालिका– १ घाटगाउँस्थित राउटे बस्तीमै पुग्नुभएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो, “राउटे भाषा, संस्कृति र जीवनशैलीको संरक्षण हुने गरी विशेष नीति तथा कार्यक्रम सञ्चालन गर्नुपर्छ र यस्मा स्थानीय तहले पनि बढी ध्यान दिनुपर्छ । ”

उहाँले चेतना (शिक्षा), स्वास्थ्य र आवासमा ध्यान दिन नसके राउटे छिट्टै लोप हुने चिन्ता पनि व्यक्त गर्नुभयो । कर्णाली प्रदेशसभा सदस्य गुलाबजङ्ग शाहले राउटेलाई मदिराको कुलतबाट जोगाउनु नै मुख्य चुनौती रहेको बताउनुभयो । उहाँले सामाजिक सुरक्षा भत्ताका साथै विभिन्न सरकारी÷गैरसरकारी निकाय र व्यक्तिले थुपै्र सहयोग गरेपनि त्यसको उचित सदुपयोग राउटे समुदायले गर्न नसकेकाले समस्या ज्यूका त्युँ रहेको टिप्पणी गर्नुभयो ।
राउटे, लोपोन्मुख, सीमान्तृकत जाति उत्थान प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सत्यदेवी खड्का (अधिकारी) ले निस्वार्थ ढङ्गले राउटेका जीवनशैलीमा सुधार ल्याउन प्रयास गर्दा धेरै आरोप सहनुपरेको गुनासो गर्नुभयो ।

बेलायत बस्दै आएका वीरेन्द्र केसी र रवीन्द्रजङ्ग लामिछानेले पठाएका ७५÷७५ थान म्याट, बल्याङ्केट तथा प्रिफर्म, ५० थान पाल, चप्पल १२५ थान, साबुन, पिठोलगायत सामग्री पठाएका थिए । सल्यानको वनगाड कुपिन्डे नगरपालिकाको भेरी नदी किनारस्थित बालुवासङ्ग्रहीबाट एक साताअघि सोही नगरपालिकाको घाटगाउँमा राउटे बसाइँ सरेका थिए । समुदायमा आफ्ना कुनै सदस्यको मृत्यु हुँदा बसाइँ सर्ने प्रचलन रहेकाले पछिल्लो समय उनीहरूले छिटोछिटो बसाइँ सर्दै आएका छन् । नेपालकै अतिलोपोन्मुख यो समुदायमा १४१ जना छन् । सङ्घीय सरकारले यो समुदायको सामाजिक सुरक्षाका लागि मासिक रु तीन हजार प्रदान गर्दै आएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर