मुख्यमन्त्री शाक्य भन्छिन् : माधव नेपालले सरकारमा पठाएका हुन् — OSNepal

मुख्यमन्त्री शाक्य भन्छिन् : माधव नेपालले सरकारमा पठाएका हुन्

LC (KTM) September 18, 2021 0

बर्दिवास, २ असोज-नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले भनेर नै सरकारको नेतृत्व गरेको बताएकी छन् ।आज महोत्तरीमा पाटी कार्यकर्तासँगको भेटघाटका क्रममा पत्रकारहरुसँग कुरा गर्दै आफ्नो सरकार अहिले अल्पमतमा रहेको र छिट्टै बिश्वासको मत लिने बताइन् ।

नेकपा एमालेको आन्दोलनलाई मजबुत बनाउन माधव नेपालको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले माधव नेपाललाई संस्थापन पक्षमा नै फर्किन आग्रह गरेको बताइन् ।

`मैले माधव कमरेडलाई पटक-पटक नेकपा एमाले नै फर्किन आग्रह गरेको छु । तर उहाँले पाटी नै दर्ता गरिसक्नुभयो । उहाँको आफ्नै कुरा होला,´ उनले भनिन् ।

आफू सरकारमा जाँदा नेकपा एस दर्ता नभएको र अहिले बागमती प्रदेशमा १३ जना प्रदेशसभा सदस्य नेकपा एसतर्फ गएर नै अल्पमतमा परेको मुख्यमन्त्री शाक्यको जिकिर छ ।

माधव नेपालले नयाँ पाटी खोलेर नेकपा एमाले अत्यन्त कमजोर रहेकोतर्फ ध्यानाकर्षण गराउँदै नेकपा एमालेको उपलब्धी र योगदानलाई बचाई राख्न नेता तथा कार्यकर्ताहरुलाई उनले आग्रह गरिन् ।

उनले बागमती प्रदेश सरकारको आयु लामो नभएकोतर्फ संकेत गर्दै सरकारको आयु दुई दिन मात्रै भए पनि जनताको पक्षमा काम गरेर देखाउने प्रतिबद्धता जनाइन् ।

महोत्तरीमा अझै जिल्ला समीकरणमा विवाद रहेको र अहिलेसम्म जिल्ला कमिटीका पदाधिकारीले सपथ ग्रहणसमेत नलिएको तर्फ महोत्तरीका नेता तथा कार्यकर्ताहरुले मुख्यमन्त्री शाक्यलाई ध्यानाकर्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर