कोलम्बो, १ असोज- श्रीलङ्कामा देशव्यापी कफ्र्युको म्याद फेरि थप गरिएको छ । स्वास्थ्य मन्त्री केहेलिया राम्बुक्वेलाले शुक्रबार दिएको जानकारी अनुसार थप गरिएको कफ्र्यु आगामी अक्टोबर १ सम्म लागु हुनेछ । कोरोनाभाइरसको महामारी थप फैलिने खतरा अझै पनि रहेकाले कफ्र्युको म्याद थप्नु परेको उहाँको भनाइ छ ।राष्ट्रपति गोटावाया राजापाक्षेको अध्यक्षतामा बसेको राष्ट्रपतीय कार्यदलको बैठकले कफ्र्युको म्याद थप्न अनुमति दिएको हो ।
महामारीको अवस्था र विज्ञहरूको विश्लेषण तथा सुझावका आधारमा कफ्र्युको म्याद थप्ने बारेमा स्वास्थ्य मन्त्रीले प्रस्ताव गर्नु भएको थियो ।कफ्र्यु लागु भएपनि अत्यावश्यक सेवा तथा कामका लागि भने कुनै बाधा नहुने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । “आम नागरिकको आधारभूत आवश्यकता, बाध्यता र अनिवार्यतासँगै देशको अर्थतन्त्रलाई समेत ध्यान दिएर हामीले अत्यावश्यक कतिपय काम तथा सेवा सञ्चालनका लागि कुनै बाधा नहुने व्यवस्था गरेका छौँ,” स्वास्थ्य मन्त्री राम्बुक्वेलाले भन्नुभयो ।
कफ्र्युका कारण महामारी न्युनिकरणका लागि धेरै सहयोग पुगेको दावी गर्दै उहाँले चाडै सवै नागरिकले खोप लगाउन पाउने विश्वास व्यक्त गर्नुभयो । श्रीलङ्कामा अहिले पनि डेल्टा भेरियन्टको कोरोनाभाइरस तिव्र रुपमा फैलिएको विज्ञहरुले जानकारी दिएका छन् । श्रीलङ्कामा अहिलेसम्म चार लाख ९८ हजार ६९४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने ११ हजार ८१७ जनाको मृत्यु भएको छ । (रासस÷सिन्ह्वा)