भारी वर्षाका कारण प्रभाबित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन प्रियंका गान्धीको आग्रह — OSNepal

भारी वर्षाका कारण प्रभाबित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन प्रियंका गान्धीको आग्रह

LC (KTM) September 17, 2021 0

नयाँ दिल्ली, भारत, भदौ – उत्तर प्रदेश सरकारलाई राज्यमा भारी वर्षाका कारण बालीनाली परेको प्रभाबको लेखा राख्दै प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन काँग्रेस महासचिव प्रियंका गान्धीले शुक्रबार आग्रह गर्नुभएको छ । गान्धीले हिन्दी भाषामा गरेको ट्वीटमा भनिएको छ, “उत्तर प्रदेशमा भारी वर्षाका कारण धेरै ठाउँमा किसानको बालीनालीमा ठूलो क्षति पुगेको छ । स्वास्थ्य महामारीपछि आएको अर्को विपत्तिले गर्दा मन्दी र मुद्रास्फीतिको सामना गरिरहेका कृषकहरू चिन्तित बनेका छन् । म उत्तर प्रदेश सरकारलाई किसानहरूको क्षतिको मूल्यांकन गर्न र उचित क्षतिपूर्ति दिन अनुरोध गर्छु ।”

यसैबीच शुक्रबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारी वर्षाका कारण प्रभावित जनतालाई तत्काल राहत दिन राज्यका सबै जिल्ला मजिस्ट्रेटलाई निर्देशन दिनुभएको छ । कुनै पनि प्रकारको नोक्सानीमा कानूनी प्रावधान अनुसार दिन मिल्ने सहायता प्रदान गरिनेछ ।

मुख्यमन्त्रीले अधिकारीहरूलाई सबैै प्रकारको क्षतिको रिपोर्ट मुख्य मन्त्रीको कार्यालयमा पठाउन अधिकारीहरूलाई निर्देशन दिनुभयो । भारतीय मौसम विज्ञान विभागका अनुसार सेप्टेम्बर १७ मा उत्तर प्रदेशमा पृथक खालको भारी वर्षाको सम्भावना रहेको बताइएको छ । शुक्रबारपछि भने मौसममा सुधार आउने अनुमान गरिएको छ ।

मुख्यमन्त्री योगी आदित्यनाथले यसअघि उत्तर प्रदेशको पूर्वी क्षेत्रमा भारी वर्षाका कारण करिब १५ जिल्ला बाढीबाट प्रभावित भएको बताउनुभएको थियो । सरकारी तथ्याङ्क अनुसार घाघरा, राप्ती, बुढी राप्ती, कन्हर, रोहिणी र कुवानो नदीहरु खतराको तहभन्दा माथि बगिरहेका छन् । बाढीबाट प्रभावित १८ जिल्लामध्ये सिद्धार्थनगर, गोरखपुर, गोरखपुर, बलरामपुर, सन्त कबीरनगर, महाराजगन्ज, बस्ती, बाराबङ्की, खेरी, सीतापुर, बलिया, कुशीनगर, आजमगढ, बहराइच, अयोध्या, शाहजहाँपुर, माउ र गोन्डा रहेका छन् ।(रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर