मोरङ, १ असोज- मोरङको बेलबारी- ७ का लीलाप्रसाद चौधरी त्रेता युगमा जस्तै खराउ लगाएर ठमठम हिँडिरहेका छन् । न उनी साधू, न त कमजोर आर्थिक अवस्थाका व्यक्ति, उनले खराउ लगाएर हिँडेको देख्दा मानिसहरू टक्क उभिएर हेर्छन् ।
बाहुनीको जनता उच्चमाविमा ३२ वर्ष लेखापालको जागिर गरेर सेवा निवृत्त भएका चौधरीलाई पैसाको अभाव हुने कुरै भएन । लीला सरको खुट्टामा खराउ परेको ४८ वर्ष भयो । ‘किन खराउ लगाउनुभयो ?’ भन्ने जिज्ञासामा उनी भन्छन्, ‘२२ वर्षको उमेरमा दाहिनेपट्टि हर्निया निस्कियो । २०३० सालमा नेपालमा उपचार गर्न संभव नै थिएन । भारतसम्म पुग्ने आर्थिक हैसियत भएन । त्यसै बेला एक साधुले खराउ लगाउन सुझाव दिए ।’
त्यसै बेलादेखि खराउ लगाएको उनले सुनाए । उनका अनुसार उति बेला खाली खुट्टा नै हिँड्ने समय थियो । गाउँमा इनेगिनेले मात्र खुट्टामा जुत्ता चप्पल लगाउँथे ।
साधुले भनेअनुसार लीलाले गाउँका सिकर्मीलाई खराउ बनाउन लगाए । सिमलको रूखको काठ खोपेर खुट्टाको बूढी र माइली औँलाले च्याप्ने गरी टुसो निकालेर खराउ तयार भयो ।’सुरुमा त अप्ठ्यारो भयो तर हर्नियाबाट मुक्त हुनु थियो’, सुरुवाती दिन सम्झिँदै उनी भन्छन्, ‘त्यसैले दैनिक औँलाको बीचबाट रगत चुहाउँदै १९ महिना खराउ लगाएँ ।’ १९ महिनामा हर्निया आफैँ हरायो । त्यसयता लीलालाई हर्नियाले दुःख दिएको छैन रे ! उनी भन्छन्, ‘मलाई खराउ सञ्जीवनी बुटी जस्तै भयो ।’
युग जतिसुकै आधुनिक भए पनि पूर्वीय शास्त्रमा सबै रोगको उपचार गर्ने पद्दति भएको उनको भनाइ छ । ‘अहिले खराउ बनाइदिने सिकर्मी पाइँदैनन्, त्यसैले आफैँ बनाएर लगाउँछु’, उनले भने ।
अब त उनको नाम नै ‘खराउ सर’ भइसकेको छ । सबैले लीलाभन्दा पनि खराउ सर भनेर चिन्छन् । ‘जे भने पनि म सन्तुष्ट छु, त्रेता युगको चप्पल अझै जोगाएको छु’, उनले हाँस्दै भने, ‘मेरो फाइदाका लागि भए पनि ।’
सुगर, प्रेसर, हाइड्रोसिल जस्ता रोगको खराउ चप्पलले ठीक पार्ने उनको अनुभव छ । चौधरीले भने, ‘अहिले सबै बजारकै भर पर्छन् अनि ४० वर्ष नपुग्दै विभिन्न रोगले भेट्छ । रोग लागे घरायसी औषधि र खेतबारीको जडिबुटी खाँदा नै रोग निको हुन्थ्यो ।’
आफूले नीम जातको काठको खराउ लगाउने गरेको उनले सुनाए । एक जोर चप्पल नौ महिना मात्र टिक्ने पनि उनको अनुभव छ ।
खराउ लगाएरै सबैतिर आफू जाने गरेको चौधरीले सुनाए । चौधरीले आफू मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा जाँदा आफ्ना खराउ हेरेर विभिन्न प्रश्न सोध्ने गरेको बताउँछन् । कतिले चाहिँ आफूलाई हाँसोको पात्र नै बनाउने गरेको उनको तीतो अनुभव छ ।
सधैँ खराउ लगाउने उनी जाडो यामका दुई महिना भने खराउ लगाउँदैनन् । धेरै जाडो हुने समयमा जुत्ता लगाउने गरेको र जुत्ता लगाउँदा खुट्टा मात्र नभई पूरै शरीर नै दुख्ने गरेको उनी सुनाउँछन् ।