कामका लागि भारत जानुपर्ने वर्षौँदेखिको बाध्यता हटाउने छौँ — OSNepal

कामका लागि भारत जानुपर्ने वर्षौँदेखिको बाध्यता हटाउने छौँ

LC (KTM) September 17, 2021 0

डोटी-सुदूरपचिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले युवालाई कामका लागि भारत जानुपर्ने वर्षौँदेखिको बाध्यता अन्त्य हुने बताउनुभएको छ । नेकपा माओवादी केन्द्रले जिल्ला सदरमुकाम सिलगढीमा आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले यहाँका नागरिक तथा युवालाई स्वरोजगार बनाउन प्रदेश सरकारले बिनाधितो ऋण दिनेलगायत कार्यक्रम अघि सारेकाले अब यहाँका युवाले घरैमा रोजगार पाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नागरिकलाई स्वरोजगार बनाउन हामीले बिनाधितो ऋण दिने योजना अघि सारेका छौँ, अब कामका लागि भारत जानुपर्ने अवस्थाको अन्त्य हुनेछ ।” कृषि क्षेत्रलगायत विभिन्न काम गर्नका लागि बिनाधितो ऋण दिने सरकारले योजना ल्याएका कारण अब कोही पनि बेरोजगार नहुने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री भट्टले अबको अवश्यकता भनेको विकासको भएकाले अन्य कुराहरु छोडेर नागरिकको विकासमा लाग्नुपर्ने बताउनुभयो । प्रदेश सरकार गठन भएसँगै सुदूरपश्चिममा लामो समयदेखि रोकिएका विकास निर्माणका कामले गति पाएको समेत उहाँले जिकिर गर्नुभयो ।

सुदूरपश्चिममा रहेका पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकारले विभिन्न योजना अघिसारी काम गरिरहेकाले यहाँका पर्यटकीय क्षेत्र चाँडै नै देशविदेशमा चिनाउने गरी काम भइरहेको मुख्यमन्त्री भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिमको खप्तड, बडिकेदारलगायत पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रचारप्रसार र विकासका लागि सडक विस्तारसँगै अन्य विकासका काम सुरु भएका छन् । अब देशविदेशमै यहाँका पर्यटकीय क्षेत्र चिनिने छन् ।”

यसैगरी सुदूरपश्चिम क्षेत्रको विकासका लागि वर्तमान सरकार निकै चासोका साथ अगाडि बढिरहेको उहाँको भनाइ थियो । मुख्यमन्त्री भट्टले वर्षौँदेखि चर्चामा रहेको पश्चिम सेती परियोजना निर्माणका लागि केन्द्र सरकारसँग पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले मात्रै पश्चिम सेती बनाउन नसक्ने भएका कारण केन्द्र सरकारसँग निर्माणका लागि पहल गरिरहेका छौँ, पश्चिम सेती मात्रै बन्ने हो भने यहाँको विकासमा कायापलट हुन्छ ।” (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर