पार्टीभित्रकै स्वार्थी नेताका कारण मेरो नेतृत्वको सरकार ढल्यो: अध्यक्ष ओली — OSNepal

पार्टीभित्रकै स्वार्थी नेताका कारण मेरो नेतृत्वको सरकार ढल्यो: अध्यक्ष ओली

LC (KTM) September 16, 2021 0

काठमाडौँ, ३१ भदौ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रतिपक्षमा रहे पनि समृद्ध नेपाल र राष्ट्रिय स्वाधिनताको लक्ष्यपूर्तिप्रतिको जिम्मेवारीमा कुनै फरक नपर्ने बताउनुभएको छ ।एमालेको काठमाडौँ जिल्ला कमिटीले आज आयोजना गरेको विस्तारित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्रकै केही स्वार्थी नेताका कारण आफ्नो नेतृत्वको सरकार ढलेको जनाउँदै आगामी निर्वाचनबाट ताजा जनादेश लिएर पुनःसरकारको नेतृत्व गर्ने बताउनुभयो । “आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षलाई सघाउन जानेलाई जनताले पत्याउने छैनन् । एमाले जस्ताको तस्तै छ । पार्टीबाट चोइटिएर गएका कार्यकर्तालाई म पुनःमूल पार्टीमा फर्कन आग्रह गर्दछु”, अध्यक्ष ओलीले भन्नुभयो, “माओवादी केन्द्रबाट एकतामा आएकामध्ये पनि ठूलो हिस्सा हामीसँग छ ।”

अध्यक्ष ओलीले एमाले कार्यकर्ताको जगमा उभिएको पार्टी भएको उल्लेख गर्दै वर्तमान सरकारले मुलुकमा बजेट शून्यता सिर्जना गरेको आरोप लगाउनुभयो । एमालेका उपाध्यक्ष एवं वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टी सरकारमा हुँदा भएका कामको समीक्षा गरेर जनताका बीचमा पुग्नुपर्ने बताउनुभयो ।

पार्टीका महासचिव ईश्वर पोखरेलले पार्टीको आगामी असोज १५ देखि १७ सम्म हुने विधान अधिवेशनले नीति र सङ्गठनको संरचनाबारे पुनरावलोकन गर्ने जनाउनुभयो । उहाँले १० बुँदे प्रस्तावलाई पार्टीभित्र रचनात्मकरुपमा कार्यान्वयन गर्ने जानकारी दिनुभयो ।

पार्टीका स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज रामबहादुर थापा ‘बादल’ ले कम्युनिष्ट आन्दोलनको मूल प्रवाह एमाले नै भएकाले यसको नेतृत्वमा समृद्धि हुँदै समाजवादको लक्ष्यमा पुग्नुको विकल्प नभएको बताउनुभयो । पार्टीका जिल्ला अध्यक्ष कृष्ण राईको अध्यक्षतामा भएको कार्यक्रममा कागेश्वरी मनहरा नगरपालिकाको वडा नं ५ का जनप्रतिनिधि बबिता कुइँकेल र गुणकेशरी श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरे पनि एमालेमा रहेको घोषणा गर्नुभएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर