रसुवा, ३१ भदौ – वर्षाका कारण अवरूद्ध डाँडागाउँ क्षेत्रको ग्रामीण सडक पुनः सञ्चालन भएको छ । सडक मार्ग सञ्चालन भएसँगै गत असारदेखि बन्द नियमित यात्रुबाहक बसलगायत सबैखाले यातायात सञ्चालन भएको स्थानीय बासिन्दाले बताएका छन् ।
डाँडागाउँ क्षेत्रमा नियमित बस सेवा सञ्चालन भएपश्चात् दैनिक २५÷३० जना स्थानीयवासीलाई त्रिशूली– काठमाडौँलगायतका स्थानमा आउजाउ गर्न सहज भएको उत्तरगया गाउँपालिका–२ का वडासचिव आशाकाजी गुरुङले बताउनुभयो । साल्मे भित्तालगायतका विभिन्न स्थानमा गएको पहिरो स्काभेटरको सहायताले हटाएको बताइएको छ ।
दैनिक उपभोग्य बस्तु ढुवानी गर्न र बिरामी उपचारका लागि एम्बुलेन्स झिकाउनसमेत सहजता आएको स्थानीयवासीले बताएका छन् । बससेवा पुनःसञ्चालनले ज्येष्ठ नागरिकको यात्रामा समेत सहज भएको ७५ वर्षका स्थानीयवासी चूडामणि पौडेलले बताउनुभयो ।(रासस)