यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो — OSNepal

यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

LC (KTM) September 14, 2021 0

काठमाडौँ, २९ भदौ -नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ ।
समितिले दिएको साइत अनुसार आज बिहान १० ः ३४ बजे भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको गुठी संस्थानले जनाएको छ । यही भदौ २३ गते बुधबार बिहान १० ः ५२ मा वनयात्रा गरी बेलुकी ७ ः २७ मा लिङ्गोका लागि रुख काटिएको थियो । लिङ्गोलाई असोज २ गते बिहान ६ ः ५१ बजेको साइतमा इन्द्रध्वजोत्थान गरिने साइत दिइएको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

इन्द्रध्वजोत्थान गरेपछि असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइने छ । असोज ४ गते माथिल्लो टोल यात्रा गराइने छ । असोज ८ गते नानिचा यात्रा गरिने छ । त्यसै दिन राति १० ः ३६ बजे इन्द्रध्वज पातन अर्थात् लिङ्गो ढालिने छ । करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिने छ । कोरोना महामारीका कारण गत वर्ष पूजा आराधनामात्र गरेर यात्रा स्थगित गरिएको थियो । यस वर्ष सरोकार भएका निकायको बैठकले स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम् उपस्थिति गराएर जात्रा गर्न लागिएको संस्थान काठमाडौँ कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

जात्राको तयारीस्वरुप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ मर्मत शुरु गरिएको छ । तीनै वटा रथ शुरु गरिने इन्द्रजात्राको मुख्य दिन असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार क्षेत्रमा आउनुहुने कार्यक्रम तय गरिएको संस्थानले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर