काठमाडौं, २८ भदौ-राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसबाट बालबालिकालाई सुरक्षित बनाउनुपर्ने बताएकी छन् । राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले बालबालिकालाई महामारीबाट बचाउँदै बालअधिकारको संरक्षणमा आआफ्नो भूमिका निभाउन सबै पक्षको ध्यान आकृष्टसमेत गरेकी छन् ।
एक सन्देश जारी गर्दै उनले बालबालिकाको भविष्य सुनिश्चित गर्नका लागि सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, बालअधिकारकर्मी, सामाजिक संघसंस्था, निजी क्षेत्र, नागरिक समाज तथा अभिभावकहरूले निर्वाह गर्दै आइरहेको भूमिकाप्रति धन्यवादसमेत व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारी कोभिड- १९ का कारण लामो समयदेखि जारी बन्दाबन्दीले बालबालिकाहरूको नियमित पठनपाठनमा अवरोध उत्पन्न भएको उल्लेख गरेकी छन् ।
‘अझ देशका दुर्गम गाउँ र बस्तीमा रहने बालबालिकाहरूले अनलाइन कक्षाबाट समेत बञ्चित हुनुपरेको अवस्था छ’ उनले सन्देशमा भनेकी छन्, ‘१८ वर्षमुनिका बालबालिकाका लागि कोभिड- १९ विरुद्धको खोपको व्यवस्था हुन नसकेका कारण उनीहरू संक्रमणको जोखिममा रहेका छन् ।’
बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व रहेको उनको भनाइ छ ।
संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको भन्दै उनले यसबाट बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता विषयहरू समेटिँदै बालबालिकाको सर्वाङ्गीण विकासको प्रत्याभूति भएको उल्लेख गरेकी छन् ।
उनले संविधानको मार्गदर्शनबमोजिम बालबालिकासम्बन्धी ऐन, २०७५ लागू भई बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षण जस्ता विषयहरूमा उल्लेख्य कार्यहरू समेत हुँदै आएका सन्देशमा उल्लेख गरेकी छन् ।
नेपालले संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन गरी बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा प्रतिबद्धता जनाएको दिन पारेर हरेक वर्ष २९ भदौमा बाल दिवस मनाउँदै आएको छ ।
यस वर्ष ‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने संकल्पका साथ दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।