काठमाडौं भदौ २८ । सभामुख अग्निप्रसाद सापकोटाले आज आह्वान गरेको सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् ।
लगातार संसद अवरोध भएपछि आजको लागि बोलाइएको सर्वदलीय बैठकमा ओली नआउने भएका हुन् । आज दिउँसो साढे २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको लोत्से हलमा सापकोटाले बैठक बोलाएका हुन् ।
छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा (एमाले)संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता महन्थ ठाकुर, जनमोर्चाका दुर्गा पौडेल, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का प्रेम सुवाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको छ ।
तथापी, अध्यक्ष ओली सापकोटाले बोलाएको कुनै पनि बैठकमा सहभागी नहुने स्रोतले जनाएको छ । सापकोटाले विपक्षी दलका नेताको हैसियतमा ओलीलाई व्यक्तिगत पत्र पठाएर बैठकमा निम्ता गरिएको बताइएको छ ।
स्रोतका अनुसार आजको सर्वदलीय बैठकमा एमालेको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईलगायत नेताको सहभागिता हुने भएको छ ।