महोत्तरीसहितका मिथिला क्षेत्रमा आज जानकी नवमी पर्व मनाइँदै — OSNepal

महोत्तरीसहितका मिथिला क्षेत्रमा आज जानकी नवमी पर्व मनाइँदै

LC (KTM) May 20, 2021 0

महोत्तरी, ६ जेठ- महोत्तरीसहितका मिथिला क्षेत्रमा आज जानकी नवमी पर्व मनाइँदै छ । कोभिड–१९ सन्त्रासबीच मैथिल (मिथिलाका बासिन्दा) आज आफ्नो घरघरमै आदर्श नारी सीताको सम्झना गर्दै जानकी नवमी पर्व मनाइरहेका हुन् ।

वैशाख शुक्ल नवमीका दिन त्रेतायुगमा राजा जनकले हलो जोत्दा धर्तीबाट आदर्श नारी सीता उत्पत्ति भएकी विश्वासमा मिथिलामा यस दिनलाई जानकी नवमी पर्व भनेर उत्सव मनाउने गरिएको छ । पर्वको अवसरमा जिल्लाको मटिहानीस्थित श्री लक्ष्मीनारायण मठमा आज बिहानैदेखि जानकी नवमी पर्वको अवसरमा बिशेष पूजापाठ गरिँदै छ । यसअघि पर्वमा नेपाल–भारतका साधु, सन्त र उल्लेख्य सहभागी हुने गरे पनि यसपालि भने कोभिड–१९ सङ्क्रमण छल्न जारी निषेधाज्ञाले गर्दा मठभित्रका साधु सन्तमात्र सहभागी छन् । लक्ष्मीनारायण मठ मुलुकभरकै मठमध्येको मुख्य मठ र यहाँका महन्थ ‘मानमहन्थ’ भनिन्छन् ।

मिथिला, जानकी, जनकनन्दिनी, वैदेही र किशोरीजीसहितका नामले पुकारिने बिदेहराज जनक (शिरध्वज) पुत्री सीता राजा जनकले हलो जोत्दा तत्कालीन मिथिला क्षेत्रको पुनौरा (हाल भारतको सीतामढी जिल्लामा पर्ने) भन्ने ठाउँमा आजकै दिन हलोको टुँडोले उप्काएको माटोबाट उत्पत्ति भएको विश्वास गरिन्छ । आफ्नो विद्वता, सहनशीलता र स्वधर्म निर्वाहले आदर्श नारी मानिएकी सीता मुलुककै गौरव भएकीले मिथिलामा मात्र नभई मुलुकभर नै यो पर्व मनाइनुपर्ने मठका सन्त रवीन्द्र दास वैष्णब बताउनुहुन्छ ।

मिथिला (विदेह) मा अनिकाल पर्दा राजा जनकले हलो जोते पानी पर्छ भन्ने विद्वत् मत आएपछि राजा जनकले आफ्नो राज्यभर हलो जोत्दा माटोबाट जानकी उत्पत्ति भएकी मानिन्छ । जानकीले माइती मात्र नभएर आफ्नो पतिघर (भारतको तत्कालीन अवध, जसको राजधानी अयोध्या मानिन्छ) को गौरवसमेत बढाएर आदर्श नारी बनेकी हिन्दू जनविश्वास छ ।

जानकी नवमी पर्वमा धार्मिक प्रवचन, रामायण वाचन, सीता जन्मसम्बन्धी लघुनाटक प्रदर्शन र रात्रि कीर्तनका कार्यक्रम मिथिला क्षेत्रका मन्दिर, मठ र धार्मिकस्थलमा आयोजन गरिँदै आइएका छन् । आफ्नो माटोसँग गहिरो नाता जोडिएकी रामायणकालीन पौराणिक पात्र ‘मिथिला’ लाई मैथिल विशेष श्रद्धासाथ सम्झना गर्छन् ।

माइती मिथिलादेखि अवधसम्म ‘आदर्श नारी’ को परिचय बनाएकी सीतालाई हिन्दू परम्परामा ‘देवी’ को अवतारका रूपमा मानिदै, पुजिदै आइएको छ । यसपालि भने जारी निषेधाज्ञाको परिपालना गर्दै घरघरै जानकी नवमी श्रद्धाभक्तिसाथ मनाउन आम मैथिल (मिथिलावासी)लाई अपिल गरिएको वैष्णबको भनाइ छ । जिल्लामा गत वैशाख २२ गते जारी निषेधाज्ञाको अवधि यही जेठ १० गतेसम्मलाई बढाइएको छ ।

नेपालकीे राष्ट्रिय विभूति मानिएकी सीताको जन्मदिनलाई राष्ट्रिय धार्मिक पर्वकै रूपमा ‘जानकी नवमी’ मनाइन पर्ने माग विगतदेखि मिथिलावासीले उठाउँदै आएका छन् । यसपालि कोभिड–१९ का कारण सार्वजनिक समारोह आयोजन नगरिए पनि यस दिनलाई विशेष दिनको रूपमा मान्यता दिई राष्ट्रिय धार्मिक, सांस्कृतिक पर्व घोषणा गर्न सङ्घीय सरकारले पहलकदमी लिनुपर्ने आम मैथिल बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर