भोजपुर रङ्गशाला निर्माण अन्तिम चरणमा — OSNepal

भोजपुर रङ्गशाला निर्माण अन्तिम चरणमा

Kesh Karki (USA) September 08, 2021 0

–युवराज विष्ट

प्रदेश–१ सरकारको उच्च प्राथमिकतामा रहेको अन्तर्राष्ट्रियस्तरको ‘भोजपुर रङ्गशाला’ निर्माण अन्तिम चरणमा पुगेको छ । रु १४ करोड पाँच लाख लागतमा २०७६ मङ्सिरबाट निर्माण सुरु गरिएको सो रङ्गशाला पाँच हजार दर्शक अट्नसक्ने क्षमताको छ ।विसं २०८० सम्म निर्माण अवधि रहेको छ । सरकारले समयमा बजेट दिएमा सम्झौता अघि नै काम सम्पन्न गर्ने निर्माण कम्पनी रायमाझी मार्सेली जेभीले जिकिर गरेको छ । कम्पनीका प्रमुख श्याम श्रेष्ठले भन्नुभयो, “यो काम समयअघि नै सम्पन्न गर्ने लक्ष्यका साथ भइरहेको छ । नक्सालाई समयमा नै पुनःढाँचा गरेर दिएमा आगामी माघ महिनाभित्रमा सकेर जिम्मा लगाउने मेरो उद्देश्य छ ।”

हालसम्म कार्यालय भवन, फाउन्डेसन लगाउनेलगायत संरचनाको काम अन्तिम चरणमा पुगेको छ भने प्याराफिड, बनाउने, रिटेनिङवाल लगाउनेलगायतको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । त्यस्तै खेल मैदानमा दुबो लगाउने काम पनि भइरहेको छ । करिब २५ रोपनी क्षेत्रमा निर्माण भइरहेको सात हजार वर्गमिटरको रङ्गशालामा पाँच हजार मानिस अट्न सक्नेगरी छवटा प्याराफिड निर्माण हुने शहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ ।

खेलको क्षेत्रमा यति धेरै योगदान पु¥याउने भोजपुरमा खेलको विकासका लागि विगतका दिनमा दिर्घकालीन योजनाका साथ काम नहँुँदा खेलाडीले भने समस्या झेल्दै आएका छन् । देश सङ्घीय प्रणालीमा गएपछि भने यहाँ खेल क्षेत्रको विकासका लागि कामको थालनी भएको देखिन्छ । जिल्लाका नौ नै स्थानीय तहले खेल क्षेत्रको विकासका लागि लगानी गरिरहेका छन् । जिल्लामा कुनै ठूलो खेलको आयोजना गर्दा विद्यमान अवस्थामा पनि खेल मैदानको अभाव नै छ ।

यहाँको समस्यालाई ध्यानमा राख्दै भोजपुर रङ्गशालाको निर्माण सुरु भएपछि खेलाडी तथा खेलप्रेमीमा उत्साह थपिएको छ । जिल्लामा ढिलै भए पनि अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण अन्तिम चरणमा पुगेसँगै खेल क्षेत्रको विकासमा टेवा पुग्ने देखिएको छ । यसले खेल क्षेत्रको विकाससँगै खेलाडीमा उत्साहको रङ्ग भरेको छ । मापदण्डअनुसारका खेलमैदान नहुँदा सोचेजस्तोरुपमा खेलाडीको वृद्धि विकास हुन सकिरहेको छैन ।

जिल्लामा फुटबल क्षेत्रमा टेवा पु¥याउने लक्ष्यले विसं २०६४ मा तत्कालीन पहिलो जिल्ला विकास समिति बोर्डले रु ५५ लाख मूल्यमा जिल्ला खेलकूद परिषद्मार्फत रङ्गशालाको जग्गा खरिद गरिएको थियो । तत्कालीन जिविसबाट छुट्याइएको केही रकमबाट रङ्गशालाको स्तरोन्नति गर्ने काम थालिए पनि बजेट अभावमा अगाडि बढ्न सकेको थिएन । अन्योलमा रहेको काम रङ्गशाला निर्माणको कामलाई पूर्णता दिन तत्कालीन मुख्यमन्त्री शेरधन राईले यसको निर्माण चासाका साथ काम अगाडि बढाउनुभएको थियो ।

सात हजार वर्ग मिटरको रङ्गशालामा पाँच हजार मानिस अट्नसक्ने गरी सात वटा प्याराफिड निर्माण हुने सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाले जनाएको छ । कूल २५ रोपनी क्षेक्रफलमा फैलिएको रङ्गशालाको दक्षिणतर्फ ८० मिटरको चौडाइ, उत्तरतर्फ ५५ मिटरको चौडाइ, पूर्वतर्फ १०२ मिटरको लम्बाइ र पश्चिमतर्फ १०५ मिटरको लम्बाइमा मैदान सम्याइएको छ ।हालसम्म कार्यालय भवन, फाउन्डेसन लगाउनेलगायत संरचनाको काम अन्तिम चरणमा पुगेको छ भने प्याराफिड, बनाउने, रिटेनिङवाल लगाउने लगायतको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । त्यस्तै खेल मैदानमा दुबो लगाउने काम पनि भइरहेको छ ।

वर्षांैदेखि बजेट अभाव झेल्दै आएको रङ्गशाला झण्डै १२ वर्षमा ४० लाख बराबर लागतमा रङ्गशालाको केही प्रतिशत स्तरोन्नति भएको थियो । स्थानीय सरकार आएपछि भोजपुर नगरपालिकाले वडाअन्तर्गत स्तरोन्नतिमा केही रकम छुट्याउँदै आएको छ । प्रदेश १ कै उत्कृष्ट रङ्गशालाका रुपमा भोजपुर रङ्गशाला बन्ने भएपछि सिङ्गो जिल्लाका लागि नै खेलाडी उत्पादनका लागि उर्वर भूमि बन्ने भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आले बताउनुहुन्छ । थोरै बजेटले पर्याप्त नभएपछि बेवारिसे जस्तै बन्दै आएको रङ्गशालाको स्वरुपले जिल्लाकै प्रतिष्ठा बोक्ने किसिमको रङ्गशाला हुनेमा भोजपुरवासी विश्वस्त रहेको उहाँले बताउनुभयो ।

भोजपुर जिल्ला फुटबल सङ्घले आधिकारिकरुपमा सम्बन्धित निकायसामु पहल गरे पनि रङ्गशाला निर्माणका लागि आवश्यक बजेटको माहोल बन्न सकेको थिएन । जिल्ला फुटबल सङ्घले पटकपटक रङ्गशालाका लागि सरोकारवाला निकायदेखि मन्त्रालयसम्म बजेटका लागि ताकेता गर्दै आएको थियो । प्रदेश सरकार बनेपछि ठूला आयोजनाअन्तर्गत प्रदेश सरकारले नमूना रङ्गशाला बनाउने लक्ष्यले बजेट विनियोजन गरेपछि सहज बाटो खुलेको सङ्घका कोषाध्यक्ष विनम श्रेष्ठले बताउनुभयो ।

उहाले भन्नुभयो, “वर्षौंपछि रङ्गशालाको नयाँ रुप लिने सपना पूरा हुने भएको छ । स्तरोन्नतिका लागि पर्याप्त बजेट र उपकरण सामग्री पनि पर्याप्त हुने भएको छ । योभन्दा अगाडिका समयमा विविध प्राविधिक कारणबस बजेटको माहोल सिर्जना हुन सकेको थिएन ।”कामलाई गुणस्तरीय बनाउनका लागि इञ्जिनीयरले नियमितरूपमा अनुगमन तथा जाँचसमेत गर्दै आएका छन् । निर्माणमा प्रयोग भएका सामग्री मापदण्डअनुसारको रहेको शहरी विकास तथा भवन निर्माण कार्यालयका इञ्जिनीयर रजनिस कुमार झाले बताउनुभयो ।

विश्व अल्ट्रा धावक मिरा राईको सम्मानमा निर्माण भईरहेको अन्तराष्ट्रियस्तरको ‘मिरा राई रङ्गशाला’ निर्माणको काम पनि तीव्रगतिमा भइरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।भोजपुर रङ्गशालासँगै पूर्वी पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा निर्माणाधीन अन्तराष्ट्रियस्तरको ‘मिरा राई रङ्गशाला’ को काम पनि तीव्रगतिमा भइरहेको छ । गाउँपालिकाको क्रमागत बजेटअन्तर्गत रु ५५ लाख र प्रदेश १ सरकारको रु एक करोड ३५ लाख गरी झण्डै दुई करोडको लागतमा सो रङ्गशाला निर्माण भइरहेको छ ।

यस्तै प्रदेश सरकारकै क्रमागत योजनाअन्तर्गतकै रु छ करोड लागतमा षडानन्द नगरपालिकाको दिङ्ला रङ्गशाला पनि निर्माण काम भइरहेको छ । यस्तै प्रदेश १ सरकारकै रु ५० लाखको लागतमा टेम्केमैयुङ गाउँपालिकाको छिनामखु खेल मैदान र रु २५ लाख लागतमा हतुवागढी गाउँपालिका–१, रानीबासको सल्लेमा क्षेत्रीयस्तरको खेलकूद रङ्गशाला निर्माणको क्रम जारी छ । जिल्लामा अन्य दर्जनौँ खेलकूद विकासको आयोजना सञ्चालित छन् । यसले खेलकूद मैदान अभावमा पलायन हुने युवा खेलाडीलाई उत्साह थपिदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर