बौदमान कार्कीको परिवार झापामा जग्गा पास गर्ने तयारीमा थियो। विदेशबाट नातिहरूले पठाएको पैसा जम्मा गर्दै अपुगका लागि स्थानीयसँग ऋण खोज्दै थिए। त्यही क्रममा घरमा भएको पैसा लुट्न परिवारका ६ जनाको हत्या भयो कि भन्ने गाउँलेको आशंका थियो। तर, नगद र गरगहना सुरक्षित भेटिएको प्रहरीको भनाइ छ। प्रारम्भिक आशंकाले मेल नखाएपछि हत्या ‘रहस्यमय’ बनेको छ।
संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका बौदमानको परिवार नै सखाप गर्ने गरी ६ जनाको हत्या भएको थियो। बौदमानकी पत्नी, छोरा तेजबहादुर र बुहारी कमलाको शव सोमबार बिहान घरबाहिर भेटिएको थियो। तेजबहादुरकी बुहारी रञ्जना, ११ वर्षीय नाति दीपेन र ७ वर्षीया नातिनी गोमाको पनि हत्या भएको थियो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
वृद्ध बौदमान मात्र सकुशल भेटिए। सोमबार बिहानदेखि अनुसन्धान गरेको प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेको छैन। अनुसन्धानमा लगिएको कुकुरले पनि घटनामा कुनै संकेत देखाउन सकेन। प्रहरीले बौदमानको घरमा भेटिएको नगद र गहनाको विवरण भने सार्वजनिक गर्न चाहेन।
खोलागाउँ सोमबार बिहानैबाट शोकमा डुबेको छ। एकै परिवारका ६ जनाको बीभत्स हत्या भएको दुई दिन बित्दासमेत अभियुक्त पक्राउ पर्न सकेका छैनन्। घरमा भएको पैसा चोरी गर्ने उद्देश्यले परिवारका सदस्यको पनि हत्या गरेको आशंका गाउँलेको थियो।