काठमाडौं, २२ भदौ- प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा जनमानसमा गलत हल्ला फैलाइएको बताएका छन् ।
नेपाली कांग्रेसको संसदीय दलको बैठकमा उनले एमसीसीबारे गलत हल्ला फैलाइएकोले त्यस भ्रमलाई चिर्न नेपाली कांग्रेसका सांसदलाई निर्देशन दिए । ‘हामीले अमेरिकाबाट देश विकासमा अनुदानका लागि एमसीसी सम्झौता गरेका हौं,’ उनले भने, ‘यो विकासका लागि दिइएको अनुदान हो । यसमा धेरै राजनीति गर्न खोजियो । त्यो आवश्यक छैन ।’
कांग्रेसका सभापतिसमेत रहेका देउवाले एमसीसीमार्फत नेपालमा विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नति गरिने बताएका छन् । उनले नेपालको विकासका लागि एमसीसी अहिले एकाएक नभई निश्चित कानुनी प्रक्रिया पूरा गरेर सम्झौता गरिएको जानकारी दिए ।
उनले एमसीसी पारित गर्नका लागि सत्तारुढ र विपक्षीदलसँग छलफलसमेत गर्ने बताए । बैठकमा प्रधानमन्त्री र कांग्रेस सांसदबीच एमसीसीबारेमा सवालजवाफ समेत भएको थियो ।