सरकारले दार्चुलाको तुइन खुस्काएको घटना र हेलिकप्टर उडाएको विरोधमा भारत सरकारलाई पठायो २ वटा असन्तुष्टिपत्र ‘कूटनीतिक नोट’ — OSNepal

सरकारले दार्चुलाको तुइन खुस्काएको घटना र हेलिकप्टर उडाएको विरोधमा भारत सरकारलाई पठायो २ वटा असन्तुष्टिपत्र ‘कूटनीतिक नोट’

LC (KTM) September 07, 2021 0

काठमाडौं २२ भदौ । सरकारले दार्चुलाको तुइन खुस्काएको घटना र त्यसपछिका केही सातामा सोही जिल्लास्थित नेपाली सेनाको ब्यारेकमाथि बारम्बार अनधिकृतरूपमा हेलिकप्टर उडाएको विरोधमा भारत सरकारलाई २ वटा बेग्लाबेग्लै असन्तुष्टिपत्र ‘कूटनीतिक नोट’ पठाएको छ ।

दुवै घटनाको अनुसन्धान गरी दोषीउपर कानुनी कारवाही गर्न परराष्ट्र मन्त्रालयले गत शुक्रवार र आइतवार छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको हो ।

‘तुइन घटनाबारे नेपाल सरकारलाई जानकारी दिन पहिलो कूटनीतिक नोट भदौ १८ गते तथा नेपाली आकाशमा अनाधिकृतरूपमा हेलिकप्टर उडाइएका सम्बन्धमा भदौ २० गते अर्को नोट भारतीय राजदूतावासमार्फत भारत सरकारलाई पठाएका छौं,’ परराष्ट्र मन्त्रालयका एक जना उच्च अधिकारीले स्रोत उल्लेख नगर्ने शर्तमा राससलाई बताए ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनका आधारमा भारतलाई विरोधपत्र पठाइएको बताउँदै ती अधिकारीले नेपाल र भारतबीचका सबै समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्धता दोहोर्‍याए ।

नेपाल र भारतबीचको शताब्दीऔं पुरानो बहुआयमिक सम्बन्ध सानातिना समस्याबाट प्रभावित हुनुहुँदैन भन्ने मान्यताका साथ दुवै घटनाको वास्तविकताबारे बुझ्न पनि कूटनीतिक नोटमा ध्यानाकर्षण गराइएको छ ।

गत साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामीको स्थानीय मालघाटबाट तुइन तर्ने क्रममा तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता रहेको निष्कर्षसहितको प्रतिवेदन छानबिन समितिले भदौ १५ गते सरकारसमक्ष प्रस्तुत गरेको थियो ।

छानबिन समितिको प्रतिवेदनको निष्कर्ष नेपाल सरकारले सार्वजनिक गरेपछि नयाँदिल्लीमा विदेश मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा सो मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले त्यसबारेमा भारत सरकारलाई औपचारिक जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएका थिए ।

जयसिंह धामीको खोजीमा महाकाली किनारमा ‘ड्रोन’ उडाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले गरेको अनुरोधको कुनै प्रत्युत्तर नदिई भारतले महाकाली वारिका बस्ती, सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका संरचनामाथि बारम्बार हेलिकप्टर उडाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर