दुहुँ गाउँपालिका–२, नारुलीका पुरन साहु भदौ १४ गतेदेखि गौरीलमाण्डौँ मावि हिकिलाको विद्यालयमा आश्रय लिएर बसेका छन् । भदौ १३ गते राति आएको बाढीपहिराका कारण पूरै घरखेत बगाएपछि विद्यालयको भवनमा आश्रय लिएका हुन् ।
गाउँपालिकाले उनीसँगै नारुली बस्तीका १७ परिवार विद्यालयमा राखेको छ । गाउँमाथिबाट आएको बाढीपहिरामा परी नारुली, बतकोली, सिमारलगायत बस्तीमा सबैभन्दा बढी घर भत्किएका छन् भने सुत्खोला, अफरेलिखालगायत बस्ती पनि पहिराको उच्च जोखिममा छन् । यहाँका झण्डै १०० घरधुरी बाढीपहिराबाट प्रभावित बनेका छन् ।
“पहिराले घर भासिने क्रम अझै रोकिएको छैन । घर धुजाधुजा बनेका छन् । खेत पूरै दरार भएका छन् । साउन १४ गते नेपाली सेनाको हेलिकोप्टरमार्फत ८० थान त्रिपाल आएको थियो, त्रिपालमा कहाँ टाँग्नु”, पुरनले भन्नुभयो, “त्रिपाल टाँग्ने जमिन त सुरक्षित हुनुप¥यो नि रु”
“बाढीपहिरो आएको भोलिपल्टसम्म जमिन भासिएको थिएन, घर सुरक्षित नै थिए, तर अहिले दिनहुँ घर भत्किरहेका छन् भने जमिन पूरै भासिँदै गएको छ । यो ठाउँमा बस्न सकिने अवस्था कहीँ पनि छैन । हाम्रो सुरक्षित स्थानान्तरणका लागि पहल हुनुपर्छ”, उहाँले सुनाउनुभयो ।
उडालु, गोकुलगाड, सिमारखोला, दुनदुमखोला, घट्टेखोला मिसिएर कालागाड खोला बनेको छ । सबै खोलामा एकसाथ पानी जम्मा हुँदै बाढीको रूप लिएको हो । राति ९ बजेदेखि पानी पर्न थाल्यो, रातिको १२–१ बजेपछि खोला बढेर कटान सुरु गरेको धनसिंह डडालले बताउनुभयो । उहाँका अनुसार एक्कासी ठूलो आवाज आयो, खोलामा गाडाङगुडुङ आवाज सुनियो । बिहान हुँदै जाँदा सबै ठाउँमा पहिरो देखियो । उहाँले भन्नुभयो, “अहिले विद्यालयमा बस्दा खानबस्न मिलेकै छ । तर कति दिन विद्यालयमा बस्नु । विद्यालय खोल्ने तयारी हुँदैछ । हामीलाई चाँडो सुरक्षित स्थानमा बस्ने वातावरण मिलाइनुपर्छ ।”
बाढीपहिराबाट प्रभावित भएकाले प्रमुख जिल्ला अधिकारी सिद्वाराज जोशीलगायतको टोली गाउँ पुग्दा आफूहरूको सुरक्षित स्थानमा पुनःस्थापना गर्न माग गरेका छन् । “हामीहरू विद्यालय भवनमा कति दिन बसौँ तीन तहको सरकारले हाम्रो व्यवस्थापन गर्न माग गर्छौँ”, पुरन साहुले भन्नुभयो, “जनप्रतिनिधि आएकै छैन, सङ्घीय सरकारका प्रतिनिधि आएकै छैन । हाम्रो एउटै माग हो सुरक्षित ठाउँमा राखिदिनुस् ।”
प्रजिअ जोशी दुहुँमा अकल्पनीय बाढीपहिराले क्षति गरेको बताउँछन् । उहाँले बाढीपहिराको स्थलगत निरीक्षणपछि भन्नुभयो, “खोलामा बाढी आएको छ, तर डाँडाकाँडामा रहेका घर भत्किरहेका छन् ।” उहाँका अनुसार अहिले पनि घर भत्किने र जमिन भासिने क्रम यथावत छ । बस्तीमाथिका डाँडा पूरै दरार बनेका छन् ।
“मलाई लाग्छ, यो क्षेत्रमा खानी तथा भूगर्भ विभागको विज्ञ टोलीले अनुसन्धान गर्नुपर्छ”, प्रजिअ जोशी भन्नुहुन्छ, “यहाँको पूरै बस्ती तराईको कुनै ठाउँ राख्नुपर्छ । यसको लागि सङ्घ र प्रदेशले भूमिका खेल्नुपर्छ । पहिरो हेर्नै नसकिने अवस्थाको छ । हामीले तत्काल बैठक बोलाएर आवश्यक जानकारी पठाउँछौँ ।”
तुइन काटिएपछि खाद्यान्न अभाव
पहिराले अहिले जिल्लाका विभिन्न क्षेत्रमा सडक अवरुद्ध भएका छन् । दार्चुला–तिंकर खण्डको पनि विभिन्न ठाउँमा पहिरो खसेपछि यातायात ठप्प छ । यातायात सेवा अवरुद्ध भए पनि दुहु र व्यास गाउँपालिकाका बासिन्दा सदरमुकाम आवतजावत गर्ने वैकल्पिक बाटो नभएकाले पहिराको जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता छ ।
यहाँका बासिन्दा तिंकर सडकमै पैदल हिँडेर खलङ्गा पुग्नुपर्ने बाध्यता विगतदेखिकै हो । दुहुका सबै ठाउँका बासिन्दा तिंकर सडक भएरै खलङ्गा जानुपर्छ । “विभिन्न कामले सदरमुकाम नगई हुन्न । तर जोखिम धेरै छ”, व्यासका स्थानीय विशेश्वरप्रसाद बडुले भन्नुभयोे, “गाउँदेखि सदरमुकाम पुग्न भिरको बाटो छ । तिंकर सडकको ठाउँठाउँमा पहिरो खस्ने क्रम नरोकिएकाले धेरै जोखिम बढेको छ । अहिले यो क्षेत्रमा झोलुङ्गे पुल बगाउनुको साथै तिंकर सडकको ठाउँठाउँमा पहिरो गएपछि झन् समस्या भएको छ ।”
माथिबाट ढुङ्गा खस्ने र हतारले हिँड्दा चिप्लिएर लड्ने डर उत्तिकै रहेको सर्वसाधारण बताउँछन् । स्थानीय उत्पादनले नधान्ने भएकाले दैनिक उपभोग्य वस्तु सदरमुकामबाटै ल्याएर पूर्ति गर्नुपर्छ । तर सदरमुकाम आउजाउ गर्न सर्वसाधारणलाई सकस परेको दुहँु गाउँपालिका–३ का रमेशबहादुर बम बताउँछन् । “सडक पुगेपछि दुहुँ र व्यासका बासिन्दा मौसमी मात्रै भए पनि राहत पाएका थिए । अहिले विभिन्न ठाउँमा अवरुद्ध हुँदा ढुवानीमा समस्या भएको छ”, उहाँले भन्नुभयो, “सुरुमा स्थानीय बासिन्दा आफैँले भारी बोकेर काम चलाउँदै आएका थिए । सडक पुगेपछि बानी छुट्यो । अहिले पुनः भारी बोक्नुपर्ने भएपछि समस्या भयो ।”
दुहुँ गाउँपालिकाको हिकिला, पीपलचौरी क्षेत्रमा ट्र्याक्टरसमेत नचल्दा चामल, तेललगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने गरेको स्थानीय व्यापारी बताउँछन् । व्यासका बासिन्दा विगतमा भारतीय बाटो हुँदै तुइनको माध्यमबाट आवतजावत गर्थे । अहिले गत साउन १५ गते भारतीय एसएसबीले तुइन काटेपछि यो क्षेत्रमा खाद्यान्न अभाव भएको छ । “नेपालतिर बाटो भएर आउन दुहुँसम्म पनि बाटो छैन । हिँडेर जान दुई दिन हिँड्नुपर्छ”, दानसिंह कार्कीले भन्नुभयो ।
दार्चुलाको व्यास गाउँपालिका र दुहुँ गाउँपालिकामा सोमबारदेखि खाद्यान्न ढुवानी सुरु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्र दुहुँ र खाद्यान्न अभाव भएको व्यास गाउँपालिका–२ मालगाउँका लागि खाद्यान्न ढुवानी सुरु भएको हो । व्यास गाउँपालिकाको मालमा सोमबार ४० क्विन्टल खाद्यान्न ढुवानी भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशीले जानकारी दिनुभयो । बीस–बीस क्विन्टलका दरले मालमा खाद्यान्न ढुुवानी भएको थियो ।
गत साउन १५ गतेदेखि भारतीय एसएसबीले महाकाली नदीमा तुइन लगाउन बन्द गराएपछि यस क्षेत्रमा खाद्यान्न अभाव भएको छ । भारतीय एसएसबीले तुइनको डोरी फुस्काइदिँदा मालका ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएपछि यो क्षेत्रमा खाद्यान्न ढुवानी हुनसकेको छैन । नेपालतिर सडकको विकल्प नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरेको हो ।
व्यासका लागि खाद्य संस्थानले पनि चामल ढुवानी गर्न बोलपत्र आह्वान गरेको छ । व्यास–१, २ र ३ का लागि ६०० क्विन्टल खाद्यान्न ढुवानी गर्न बोलपत्र आह्वान गरेको हो । यो क्षेत्रमा खाद्यान्न ढुवानी गर्न रु एक करोड बजेट विनियोजन गरिएको छ । यस्तै दुहुँ गाउँपालिकामा भदौ १३ गते आएको बाढीपहिरापछि गाउँमा खाद्यान्न अभाव हुन नदिन १०० क्विन्टल खाद्यान्न, तीन क्विन्टल दाल, तेल र नुन, साढे तीन हजार मिटर खानेपानी पाइप हेलिकोप्टरमार्फत ढुवानी गरिने जोशीले जानकारी दिनुभयो । सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत २० क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ ।
सम्बन्धित गाउँपालिकाको व्यवस्थापनमा गृह मन्त्रालयले हेलिकोप्टरमार्फत खाद्यान्नलगायत सामग्री ढुवानी गर्न हेलिकोप्टर दार्चुला पुगेको छ । सदरमुकाम खलङ्गास्थित नेपाली सेनाको ब्यारेकबाट दुहुँ र व्यासको मालका लागि खाद्यान्न ढुवानी भइरहेको छ ।