संखुवासभा – संखुवासभाको मादी नगरपालिका- १, खोलागाउँका एकै परिवारका छ जनाको वीभत्स हत्या घटनाको अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली सोमबार साँझ मादी पुगेको छ ।
सामूहिक हत्या प्रकरणको अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा टोली घटनास्थल मादी- १, खोलागाउँ आइपुगेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले जानकारी दिए ।
आइतबार राति अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मादी- १ का स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका छ जनाको हत्या भएको थियो ।
सामूहिक हत्या भएका मादी- १, खोलागाउँका कार्कीको परिवारको शव यत्रतत्र छरिएको अवस्था छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको सुवेदीले बताए । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर सुरक्षित राखिएको छ । घटनाको वास्तविकता चाँडै बाहिर ल्याइने डीएसपी सुवेदीले बताए ।
घटना भएको घरमा रहेका तेजबहादुरका ८५ वर्षीय बुवा बौद्धमान कार्की भने सकुशल नै रहेका डीएसपी सुवेदीले बताए । हत्या भएका ५८ वर्षीय तेजबहादुर कार्कीको शव रोडको भित्तामा मृत फेला परेको थियो ।
तेजबहादुरकी आमा ८४ वर्षीया पार्वती कार्कीको शव घरमै फेला परेको छ । ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्कीको शव खोल्सामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै, तेजबहादुरका ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको शव केही खरबारीमा फेला परेको डीएसपी सुवेदीले बताए ।
तेजबहादुरका छोरा रमेश कार्की रोजगारीको सिलसिलामा मलेसिया र अर्को छोरा नरेश कार्की दुबईमा रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।