रोकिएन प्रतिबन्धित लागुऔषध तस्करी — OSNepal

रोकिएन प्रतिबन्धित लागुऔषध तस्करी

Kesh Karki (USA) September 06, 2021 0

प्रतिबन्धित लागुऔषध कारोबारी मध्यपहाडी क्षेत्रबाट पुनः सक्रिय भएका छन् । झापाबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक सवारी साधन बिपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–९ मङ्गलटारमा जाँचका क्रममा प्रहरीले शनिबार दिउँसो लागुऔषध तस्करीमा संलग्न दुईलाई लागुऔषधसहित पक्राउ गरेको छ ।बा४ख ६६७६ नम्बरको हायस गाडीबाट सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ का १९ वर्षीय रुपेशकुमार यादव, सोही वडाका १९ वर्षका रोहितकुमार यादवलाई पक्राउ गरी लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट पक्रिएका दुईले सर्लाहीको हरिवन नगरपालिका–१० का २३ वर्षीय विशाल श्रेष्ठलाई बिक्री गर्न ल्याएको खुलेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब निरीक्षक हरि खतिवडाले बताउनुभयो । उहाँका अनुसार श्रेष्ठलाई भने आइतबार बनेपा नपा–७ बाट पक्राउ गरिएको हो ।

पक्राउ गरिएकाबाट डाइजल्याब नामक लागुऔषध सय एम्पुल, फेनेर्गान सय एम्पुल, नाम नखुलेको सय एम्पुल, नोफिन लेखिएको लेबल स्टिकर सय थान, मोबाइल एक र नगद रु नौ हजार बरामद गरिएको प्रहरीले जनाएको छ । प्रतिवादीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरिएको प्रनानि खतिवडाले जानकारी दिनुभयो ।पहिलो चरणको कोरोना भाइरसको सन्त्रासपछि करिब एक वर्ष रोकिएको लागुऔषध तस्करी गत माघ दोस्रोसाता पुनः सक्रिय भएका थिए । दोस्रो लहरको कोरोनाको जोखिम घटिरहेको अवस्थामा हाल लागुऔषध कारोबारी पुनः सक्रिय भएको घटनाले पनि पुष्टि गरेको छ । यस घटनाले लागुऔषध कारोबारी पुनःसक्रिय भएको उहाँले बताउनुभयो । उहाँले कारोबारीको खोजीकार्य तीव्ररुपमा गरिने जानकारीदिनुभयो । “घटनाले कारोबारी पुनः सक्रिय भएको देखिन्छ, अब हामी विशेष निगरानी गर्छौं”, उहाँले भन्नुभयो ।

गत माघमा प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ तथा लागुऔषध इन्जेक्सनसहित दुईलाई बिपी राजमार्गस्थित इलाका प्रहरी कार्यालय मङ्गलटारले नै पक्राउ गरेको थियो । काभ्रेको चौँरीदेउराली गाउँपालिका–३ का १९ वर्षीय शम्शेर घिसिङ र सुनसरीको धरान उपमहानगरपालिका–२ का २७ वर्षका अजित कामतलाई पूर्वबाट सो राजमार्ग हुँदै काठमाडाँै आइरहेका अवस्थामा मङ्गलटारमा सवारी जाँचका क्रममा लागुऔषधसहित प्रहरीले पक्रेको हो । प्रहरीले उनीहरुको साथबाट ‘नाइट्राभेट–१०’नामक लागुऔषध २८ पत्ता (८४० ट्याब्लेट), डाइजापान इन्जेक्सन १० थान, बुप्रिनोर्फिन १० थान, फोनारागन १० थान बरामद गरेको थियो ।

तत्कालीन समयमा काभ्रे प्रहरी एक वर्षपछि नेपालमा प्रतिबन्धित औषधि बरामद गर्न पुनःसफल भएको थियो । प्रहरीले २०७६ फागुन दोस्रो साता पनौती नगरपालिका–६ स्थित एक घरबाट लुकाइछिपाइ राखेको प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ २७९ ट्याव्लेट बरामद गरेको थियो । उक्त घरमा डेरागरी बस्ने ३२ वर्षीया सुभद्रा तिमल्सिनाको कोठाबाट बिक्री वितरणका लागि दराजमा कपडाले बेरेर राखेको अवस्थामा उक्त परिमाणमा ट्याब्लेट बरामद गरी तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको थियो । यसको केही महिनाअघि विराटनगरबाट बिपी राजमार्ग हुँदै बनेपा आउँदै गरेको गाडीमा खान्तलासी गर्दा सुनसरीको गढी गाउँपालिका–३ का एक युवा र भारतको कानपुरस्थित यूपीका एक युवालाई ५० पत्ता (७५० चक्की) नाइट्राभेट–१० औषधिसहित पक्राउ गरी लागुऔषध ऐन–२०३३ अनुसार मुद्दा चलायो ।

सोही हप्ता आसपास इलाका प्रहरी कार्यालय बनेपाले पनि सुराकीकै आधारमा नाइट्राभेट–१० नामक औषधिको ८२ पत्तासहित बनेपा नपाकै विभिन्न स्थानबाट सात जनालाई पक्राउ ग¥यो । बनेपा नपा–१३ स्थित साँगाबाट ५० पत्ता (एक हजार ११४ चक्की) बोकेका तनहुँको शुक्लागण्डकी नपा–१ का एक र खोटाङको चिउरीडाँडा नपाका २५ वर्षीय एक युवालाई पक्राउ गरी कारबाही प्रत्रmिया अघि बढाएको थियो ।त्यसअघि प्रहरीले अरनिको राजमार्गको साँगा बनेपा–१३ मै काठमाडौँबाट बनेपातर्फ मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१५ का एक र मोरङको सुनबर्सी नपा–६ घर भएका एक पुरुषलाई झोलामा लुकाएको २५ पत्ता लागुऔषधसहित पक्राउ गरेको थियो । सोही राति नै बनेपा नपा–८ चाँदनीचोकबाट बनेपा नपा–१० जनागालका एक युवा, महोत्तरीको लक्ष्मिनिया गाउँपालिका–३ का एक युवा र एक पुरुषलाई सातपत्ता नाइट्राभेट–१० सहित पक्राउ गरेको थियो ।

प्रहरीले ती घटनामा सुराकीको भरमा मात्रै जेकजाँच गरी लागुऔषध बरामद तथा ओसापसारकर्ता पक्राउ गरी सार्वजनिक गरेको पाइयो । प्रहरी प्रतिवेदनका अनुसार बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)बाट लागुऔषध ओसारपसार हुने गरेको छ । उसको तथ्याङ्कअनुसार विशेष गरी ‘टिनएजर्स्’ यसको तस्करी र प्रयोकर्ताका रुपमा देखिएको छ ।तराई क्षेत्रबाट विपी राजमार्ग हुँदै लागुऔषध तस्करी आउने क्रममा प्रहरीले घटना विवरणअनुसार लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रेपलाञ्चोक बनाएको देखिन्छ । लामो समयपछि मात्रै लागुऔषध बरामद हुनुले प्रहरीले नियमित जाँचमा सक्रिय नभएकाले कारोबार फस्टाउँदै गएको आशङ्कासमेत पैदा भएको छ । पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रुपमा रहेको बिपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले उक्त राजमार्गमा निगरानी बढाइने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले बताउनुभयो ।

यसअघि पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध सङ्कलन गरी बनेपा र आसपासका सहर तथा काठमाडौँमा बिक्री गर्दै आएको तथा लागुऔषध विशेष गरी युवापुस्ताले प्रयोग गरेको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये अधिकांशले ‘ब्रोकर’ बनेर काम गरिरहेको बयान दिएको प्रहरीले जनायो ।प्रहरीको अनुसन्धानबाट अवैध लागुऔषध नाइट्राभेट भने प्रतिचक्की रु एक हजारदेखि रु एक हजार ५०० सम्ममा बिक्री हुने गरेको खुलेको छ । नाइट्राभेट–१० एक पत्तामा १५ चक्की हुन्छ । छिमेकी देश भारतमा निद्रा नलाग्दा प्रयोग गरिने नाइट्राभेट–१० नेपालमा प्रतिबन्धित औषधि हो । प्रहरीको तथ्याङ्कअनुसार बितेको पाँच वर्षमा लागुऔषध ओसारपसारसम्बन्धी ३५ वटा मुद्दा दर्ता भएका छन् । ती मुद्दामा ६६ पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर