बिरुवा रोपेको छोटो समयमा राम्रो आम्दानी हुन् थालेपछि ओखरखेतीमा रमाउँदै सिन्धुपाल्चोकका किसान — OSNepal

बिरुवा रोपेको छोटो समयमा राम्रो आम्दानी हुन् थालेपछि ओखरखेतीमा रमाउँदै सिन्धुपाल्चोकका किसान

LC (KTM) September 05, 2021 0

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा वर्षको एक बाली अन्नबाहेक अरु उत्पादन हुन नसकी अधिकांश जग्गा बाँझै रहन थालेपछि विकल्पका रुपमा उच्च गुणस्तरको ओखरखेती सुरु गरिएको छ ।बिरुवा रोपेको छोटो समयमा राम्रो आम्दानी हुने देखिएको र युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले टर्कीबाट बिरुवा झिकाइएको च्यान्दलर जातको ओखरखेती सुरु गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताउनुभयो ।

यस जातको ओखर अरूको तुलनामा वयस्क अवस्थामा पनि बोट होचो हुनावाबाट दुई–तीन महिनामा नै फल फल्न सुरु गरे पनि बिरुवालाई स्वस्थ राख्न सबै फल टिपेर फालिएको थियो । एक पटक रोपेपछि ७०÷८० वर्षसम्म आयु रहेको हाइब्रिड जातको उक्त ओखर दोस्रो वर्षमा फलेको फल खानयोग्य हुनेछ ।

तेस्रो वर्षमा भने व्यावसायिक रुपमै उत्पादन भई बिक्रीयोग्य हुनेछ । प्रतिकिलो रु ७०० मा बोटमै आएर बिक्री हुने कृषि शाखा प्रमुख विकले बताउनुभयो । समुद्री सतहबाट एक हजार २०० देखि दुई हजार ९०० मिटरको उचाइसम्म यसको खेती राम्रो मानिन्छ । रोपिएका बिरुवालाई जनावरबाट जोगाउन तारबार तथा थप बिरुवाका लागि पालिकाले चालू वर्षमा रु पाँच लाख छुट्ट्याएको छ ।

त्यस्तै सङ्घीय सरकारबाट रू पाँच लाख अनुदान प्राप्त भएको छ । त्यसका लागि किसानले पनि ५० प्रतिशत लगानी गरेका छन् । चीनसँग सिमाना जोडिएको फुल्पिङकट्टी र सेलाङकट्टीमा विकल्पका रुपमा चिया, कफी तथा अलैँचीखेतीसमेत विगतमा वर्षौदेखि नै सुरु गरिएको थियो । त्यहाँका प्रत्येक घरबाट दुई÷तीन जना युवायुवती रोजगारीका लागि विदेश गएकाले वृद्धवृद्धा र केटाकेटी मात्र घरमा छन् । उनीहरु खाडी राष्ट्रका साथै युरोप अमेरिका पुगेकाले विगत ५÷७ वर्षदेखि करिब ४५ प्रतिशत जमिन बाँझो रहेको वडा नं ४ का वडा सदस्य आङछिरिङ शेर्पाले बताउनुभयो ।

उक्त पालिका गौरीशङ्कर संरक्षण क्षेत्रभित्र पर्दछ । जङ्गल नजिकै भएकाले लगाएको अन्नबालीलाई बँदेल, मृग, बाँदरलगायतका जनावरले खाएर नष्ट गर्ने कारणले पनि किसानले जमिन बाँझो राख्न थालेका हुन् । उच्च भू–भाग रहेका कारण असोजमा लगाएको गहुँ जेठमा मात्र पाक्ने हुँदा जीविकोपार्जन गर्नसमेत कठिन हुन थालेपछि युवा जनशक्ति विदेश पलायन हुन थालेको वडासदस्य शेर्पाले बताउनुभयो ।

खाद्यान्न अभाव भए पनि त्यहाँका बासिन्दा खासा व्यापारबाट घरव्यवहार चलाउन सक्षम थिए । विसं २०७२ को भूकम्प र कोभिड–१९ महामारीले तातोपानी नाकाको भविष्य राम्रो नदेखिएपछि युवा जनशक्ति वैदेशिक रोजगारप्रति आकर्षित हुन थालेको बताइएको छ । यस कार्यक्रमलाई पालिकाले युवा लक्षित भने पनि विदेशप्रतिको मोहले गर्दा युवा जनशक्ति रोकिने सम्भावना कमै देखिएको वडासदस्य शेर्पाको कथन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर