मैत्रीपुर्ण खेल खेल्न नेपाली फुटबल टोली आउँदो साता इराक जाने — OSNepal

मैत्रीपुर्ण खेल खेल्न नेपाली फुटबल टोली आउँदो साता इराक जाने

LC (KTM) May 19, 2021 0

काठमाडौँ, ५ जेठ- नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न आउँदो साता इराक जाने भएको छ । इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट जेठ ११ गते इराक जान लागेको हो । नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपुर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उक्त खेल खेलेपछि नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न इराकबाट कुवेत जाने छ । मैत्रीपुर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागी राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मङ्गलबार २३ खेलाडीको घोषणा गर्नुभएको थियो । यसअघि गत साता ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइएको थियो ।

समूह बी मा रहेको नेपालले विश्वकप छनोटमा चाइनीज ताइपेइ, जोर्डन र अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ । विश्वकप छनोटमा नेपालले हालसम्म पाँच खेलमा एउटामा जीत तथा चार खेलमा हार ब्यहोरेको छ । नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहनुभएको छ । नेपाली टोली जेठ २९ गते नेपाल फर्किनेछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर