सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा वर्षको एक बाली अन्नबाहेक अरु उत्पादन हुन नसकी अधिकांश जग्गा बाँझै रहन थालेपछि विकल्पका रुपमा उच्च गुणस्तरको ओखरखेती सुरु गरिएको छ ।बिरुवा रोपेको छोटो समयमा राम्रो आम्दानी हुने देखिएको र युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले टर्कीबाट बिरुवा झिकाइएको च्यान्दलर जातको ओखरखेती सुरु गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताउनुभयो ।
यस जातको ओखर अरूको तुलनामा वयस्क अवस्थामा पनि बोट होचो हुनाका साथै दाना पनि ठूलो र हातैले फुटाउन सकिने विशेषता छ । बढी उत्पादन हुने स्वादिष्ट र प्रोटिनयुक्त भएकोले गर्भवती महिला तथा बालबालिकाको मस्तिष्क विकासका लागि ज्यादै उपयुक्त मानिएको पालिकाका कृषि शाखा प्रमुख नायब प्राविधिक सहायक ममता विकले जानकारी दिनुभयो ।
झिकाइएको प्रति बिरुवाको मूल्य रु एक हजार ५० रहेको छ । हाल ५० रोपनी जमिनमा एक हजार बिरुवा गत फागुनमा रोपिएको थियो । पकेट क्षेत्र घोषणा गरिएको यस कार्यलाई क्रमशः वृद्धि गर्दै लगिने कार्यक्रम छ । रोपिएका बिरुवाबाट दुई–तीन महिनामा नै फल फल्न सुरु गरे पनि बिरुवालाई स्वस्थ राख्न सबै फल टिपेर फालिएको थियो । एक पटक रोपेपछि ७०÷८० वर्षसम्म आयु रहेको हाइब्रिड जातको उक्त ओखर दोस्रो वर्षमा फलेको फल खानयोग्य हुनेछ ।
तेस्रो वर्षमा भने व्यावसायिक रुपमै उत्पादन भई बिक्रीयोग्य हुनेछ । प्रतिकिलो रु ७०० मा बोटमै आएर बिक्री हुने कृषि शाखा प्रमुख विकले बताउनुभयो । समुद्री सतहबाट एक हजार २०० देखि दुई हजार ९०० मिटरको उचाइसम्म यसको खेती राम्रो मानिन्छ । रोपिएका बिरुवालाई जनावरबाट जोगाउन तारबार तथा थप बिरुवाका लागि पालिकाले चालू वर्षमा रु पाँच लाख छुट्ट्याएको छ ।
त्यस्तै सङ्घीय सरकारबाट रू पाँच लाख अनुदान प्राप्त भएको छ । त्यसका लागि किसानले पनि ५० प्रतिशत लगानी गरेका छन् । चीनसँग सिमाना जोडिएको फुल्पिङकट्टी र सेलाङकट्टीमा विकल्पका रुपमा चिया, कफी तथा अलैँचीखेतीसमेत विगतमा वर्षौदेखि नै सुरु गरिएको थियो । त्यहाँका प्रत्येक घरबाट दुई÷तीन जना युवायुवती रोजगारीका लागि विदेश गएकाले वृद्धवृद्धा र केटाकेटी मात्र घरमा छन् । उनीहरु खाडी राष्ट्रका साथै युरोप अमेरिका पुगेकाले विगत ५÷७ वर्षदेखि करिब ४५ प्रतिशत जमिन बाँझो रहेको वडा नं ४ का वडा सदस्य आङछिरिङ शेर्पाले बताउनुभयो ।
उक्त पालिका गौरीशङ्कर संरक्षण क्षेत्रभित्र पर्दछ । जङ्गल नजिकै भएकाले लगाएको अन्नबालीलाई बँदेल, मृग, बाँदरलगायतका जनावरले खाएर नष्ट गर्ने कारणले पनि किसानले जमिन बाँझो राख्न थालेका हुन् । उच्च भू–भाग रहेका कारण असोजमा लगाएको गहुँ जेठमा मात्र पाक्ने हुँदा जीविकोपार्जन गर्नसमेत कठिन हुन थालेपछि युवा जनशक्ति विदेश पलायन हुन थालेको वडासदस्य शेर्पाले बताउनुभयो ।
खाद्यान्न अभाव भए पनि त्यहाँका बासिन्दा खासा व्यापारबाट घरव्यवहार चलाउन सक्षम थिए । विसं २०७२ को भूकम्प र कोभिड–१९ महामारीले तातोपानी नाकाको भविष्य राम्रो नदेखिएपछि युवा जनशक्ति वैदेशिक रोजगारप्रति आकर्षित हुन थालेको बताइएको छ । यस कार्यक्रमलाई पालिकाले युवा लक्षित भने पनि विदेशप्रतिको मोहले गर्दा युवा जनशक्ति रोकिने सम्भावना कमै देखिएको वडासदस्य शेर्पाको कथन छ ।