किशोर-किशोरीमा ट्याटू खोप्ने फेसनै चलेको छ । सेलिब्रिटी तथा खेलाडीले ट्याटू हानेको देखेपछि उनीहरूलाई ‘फलो’ गर्दै ट्याटू खोप्ने बढेका छन् । धेरैजसो किशोर- किशोरी साथीको लहैलहैमा लागेर ट्याटू खोपेको बताउँछन् । कतिपयले शरीरको देखिने भाग जहाँ खत छ त्यसलाई छोप्नका लागि पनि ट्याटू खोप्ने गरेका छन् ।
कतिपयले आफूलाई ‘युनिक’ देखाउन ट्याटू खोपेको बताउँछन् । कतिपय जातिमा ट्याटू खोप्नु उनीहरूको संस्कृतिसँग पनि जोडिएको हुन्छ । थारु तथा चौधरी समुदायमा ट्याटू खोप्नु भनेको उनीहरूको संस्कृतिसँग जोडिएको विषय हो । तर, शहरका युवायुवतीले भने आफूलाई अरूभन्दा भिन्न देखाउन ट्याटू खोप्ने गरेको पाइन्छ ।
हतारमा ट्याटू हानेर फुर्सदमा पछुताउनेहरू धेरै भेटिन्छन् । हरेक दिनजसो ट्याटू हटाइदिनुप¥यो भनेर आउनेसँग कुराकानी गर्दा उनीहरूलाई ट्याटूले तनाव दिएको बुझ्न सकिन्छ । ‘पहिला ट्याटू खोपिहालियो अब यो मन परेन हटाइ दिनुप¥यो’ भनेर आउनेहरू दिन प्रतिदिन बढिरहेका छन् । प्रेमी–प्रेमिकाको नाममा ट्याटू हानेकाहरू ब्रेकअपपछि हटाइदिनुप¥यो भनेर आउने गरेका छन् ।
धार्मिक आस्थाअनुसार शिव, गणेशका चित्र खोपेकाहरू धर्म परिवर्तन गरेपछि मेटाउनुप¥यो भनेर आउने गरेका छन् । सेना, प्रहरीमा जागिर खान खोज्नेहरू तथा वैदेशिक रोजगारीमा जान चाहनेहरू ट्याटू हटाउन आउने गरेका छन् । ट्याटूमा प्रयोग गरिने रङ एक प्रकारको ‘केमिकल’ हो ।
विशेष प्रकारको सियोमार्फत ट्याटू आर्टिस्टले छालाभित्र (डर्मिस) इन्ट्रा डर्मलसम्म केमिकल पु¥याउने गर्छन् । ट्याटू हान्दा छालामा एलर्जी, इन्फेक्सन तथा क्यान्सरसमेत हुने खतरा हुन्छ । ट्याटू हानेको ठाउँको खत बढ्ने समस्या देखिन्छ ।