एमाले पहिला जस्तो थियो अहिले पनि उस्तै छ : ईश्वर पोखरेल — OSNepal

एमाले पहिला जस्तो थियो अहिले पनि उस्तै छ : ईश्वर पोखरेल

LC (KTM) September 04, 2021 0

काठमाडौं १९ भदौ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी जुनसुकै प्रतिकूलतासँग जुध्ने पार्टी भएको बताएका छन् । पार्टीको जिल्ला कमिटीले आज बनेपामा आयोजना गरेको जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका पोखरेलले एमाले पहिला जस्तो थियो अहिले पनि उस्तै रहेको बताए ।

“एमालेमा बीचको केही समय धमिलो मात्रै भएको हो, अहिले सङ्लो छ, पार्टीभित्र र बाहिरी प्रतिकूलतासँग जुध्ने पार्टीलाई केही चोइटिँदा केही फरक पर्दैन”, उनले भने । एमाले नीति र घोषणापत्रका आधारमा चलेको र चलिरहने उल्लेख गर्दै पोखरेलले अबको पार्टी नेतृत्वको संरचनामा तीन पुस्ता समेटिने बताए । उनले भने, “अबको नेतृत्व पाको, अधवैशे र युवापुस्ताको समिश्रण जिम्मेवारीमा हुन्छ ।”

नेता पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाल आफैँ दुर्दशातर्फ लागेको आरोप लगाउँदै पार्टीभित्र रहँदा पराजित भएर निर्वाचितसँग समान अधिकार मागेर हास्यास्पद परिस्थिति निर्माण गरेको स्मरण गरे । “अब नेपालमा पुनः एमाले लिड पार्टी हुनेछ, गठबन्धन धेरै समय टिक्दैन”, उनले भने । उनले पार्टी सदस्यता विस्तार गरी पार्टी निर्माणतर्फ लाग्न आग्रह गरे ।

एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले हाल विचारमा नभई नेतृत्वको सङ्घर्ष भइरहेको उल्लेख गर्दै राम्रो÷नराम्रो नेतृत्व ध्रुवीकरण हुने बताए । उनले भने, “हामी पार्टी एकताको निरन्तरतामै छौँ, अबको निर्वाचनमा जनताले जनादेश, परामादेश र अध्यादेशको फैसला गर्नेछन् ।” कम्युनिष्ट आन्दोलन आँधी–तुफानझैँ गर्जेर अघि बढाइने पूर्वमन्त्रीसमेत रहनुभएका रायमाझीले जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर