टोलटोलमा पुगेर कोरोना परीक्षण गरेकाको रिपोर्ट आउन ढिलो हुँदा सङ्क्रमणको जोखिम झनै बढ्यो — OSNepal

टोलटोलमा पुगेर कोरोना परीक्षण गरेकाको रिपोर्ट आउन ढिलो हुँदा सङ्क्रमणको जोखिम झनै बढ्यो

LC (KTM) May 19, 2021 0

स्याङ्जा, ५ जेठ- जिल्लामा कोभिड­१९ को सङ्क्रमण बढेसँगै स्थानीय पालिकाहरुले टोलटोलमा पुगेर सङ्क्रमितको स्वाब सङ्कलन गरेर परीक्षणको लागि जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाए पनि त्यसको रिपोर्ट आउन ढिलो हुँदा जोखिम झनै बढेर गएको हो ।

स्वाब सङ्कलन गरी पठाएको १०÷१२ दिनसम्म पनि रिपोर्ट नआउँदा सङ्क्रमितको परिवारमा समेत समस्या हुने गरेको छ भने यसले अन्य उपचारमा समेत अन्योलको साथै थप त्रास सिर्जना गरेको छ । स्वाब सङ्कलन गरिएकाको रिपोर्ट नआउादै मृत्यु हुने र केही बिरामीको रिपोर्ट आउनुभन्दा अगाडि नै ठीक भएका घटनाले सङ्क्रमण नियन्त्रण गर्नमा थप चुनौती थपिएको पाइन्छ ।

जिल्ला सदरमुकामदेखि टाढाको दूरीमा रहेका हरिनास र कालीगण्डकी गाउँपालिका तथा चापाकोट नगरपालिकामा स्वाबको रिपोर्ट आउन लामो समय लाग्दा थप समस्या भएको पालिका प्रमुखहरुको भनाइ छ ।

कालीण्डकी गाउँपालिका प्रमुख खिमबहादुर थापाले लामो समयसम्म स्वाबको रिपोर्ट नआउँदा आफूहरुलाई व्यवस्थापनमा समस्या भएको बताउनुभयो । थापाले भन्नुभयो, “गाउँगाउँमा पुगेर स्वाब सङ्कलन गरेर पठायो, लामो समयसम्म रिपोर्ट आउँदैन, त्यसअवधिमा मानिसहरु हिँडडुल गर्दा सङ्क्रमण बढ्ने जोखिम रहेको छ ।”

हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरको पनि भनाइ उस्तै छ । स्वाब परीक्षणको लागि पठाएका व्यक्तिको रिपोर्ट नआउँदै मृ त्यु भएको अवस्थामा दाहसंस्कार गर्न समेत समस्या हुने गरेको उहाँ बताउनुहुन्छ ।

जिल्लामा मङ्गलबारसम्म कुल एक हजार १८५ जना सङ्क्रमित भएका छन् भने १११ जना निको भएर घर फर्किएका छन् । मृत्यु हुनेहरुको सङ्ख्या ५२ पुगेको छ भने विभिन्न अस्पतालमा ३५ पुरुष र १७ महिला गरी ५२ जनाको उपचार भइरहेको छ ।

जिल्लामा ३१७ आइसोलेसन शय्या र १९९ अक्सिजन सिलिण्डर रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । होम आइसोलेसनमा ४७३ महिला र ४५९ पुरुष रहेका छन् भने आइसोलेसन केन्द्रमा आठ महिला र २९ पुरुषको उपचार भइरहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी मित्रप्रसाद अर्यालले जानकारी दिनुभयो । (रासस)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर