बेलझुडीमा गौशाला सञ्चालन — OSNepal

बेलझुडीमा गौशाला सञ्चालन

Kesh Karki (USA) September 04, 2021 0

तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुडीमा गौशाला सञ्चालनमा ल्याइएको छ ।नेपाल संस्कृत विश्वविद्यालयको स्वामित्वको जग्गामा योगी आदित्यनाथ फाउण्डेशनले तुलसीपुर र घोराही उपमहानगरपालिकाको समन्वयमा गौशाला सञ्चालनमा ल्याएको हो ।यहाँका बजार, सडक तथा ग्रामीण क्षेत्रमा भौतारिने छाडा गाईगोरुको संरक्षणका लागि करिब ४५ बिघा जग्गा भाडामा लिएर गौशाला सञ्चालनमा ल्याएको योगी आदित्यनाथ फाउण्डेशनका संरक्षक भरतनाथ योगीले बताउनुभयो । उहाँले भन्नुभयो, “अब गाई संरक्षणका लागि उपयुक्त आवास निर्माण गरिने र संरक्षण अभियानलाई क्रमिकरुपमा आयआर्जनसँग पनि जोडेर लैजाने फाउण्डेशनको योजना छ ।”

गाईको दूधसँगै मलमूत्रको समेत व्यावसायिक प्रवद्र्धन गर्ने खालको योजना ल्याउनका लागि फाउण्डेशनले गुरुयोजना निर्माण गरिरहेको योगीले जानकारी दिनुभयो । उक्त गौशालाको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले गत सोमबार एक कार्यक्रमका बीच शुभारम्भ गर्नुभएको थियो ।नगरपालिकाका प्रमुख चौधरीले तुलसीपुर र घोराही उपमहानगरपालिका क्षेत्रका छाडा गाईलाई संरक्षकत्व प्रदान गर्न गौशालाको स्थापना भएको बताउँदै यसको उपयुक्त व्यवस्थापनका लागि दुवै उपमहानरपालिकाले आवश्यक सहयोग गरिने जानकारी दिनुभयो । उहाँले दीर्घकालीन रुपमा गौशाला सञ्चालनका लागि विशेष गुरुयोजना बनाउन पनि आग्रह गर्नुभयो । गौशालाले बजारमा छाडारुपमा रहका गाई तथा गोरुको संरक्षणले सवारी दुर्घटनामा कमी आउनुका साथै राष्ट्रिय जनावर गाईको संरक्षण गर्नुपर्छ भन्ने भावनाको विकास हुनेसमेत उहाँले बताउनुभयो ।

गौशालाको सञ्चालनबाट नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण हुने तुलसीपुरका समाजसेवी सुरेश हमालले बताउनुभयो । उहाँले राष्ट्रिय जनावर गाईको संरक्षण नहुँदा राष्ट्रियतामाथिकै अपमान भइरहेको उल्लेख गर्दै हरेक टोल समुदायमा गाई संरक्षण केन्द्र सञ्चालनमा ल्याउन स्थानीय सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।योगी आदित्यनाथ फाउण्डेशनका अध्यक्ष अनिल विष्टले गाई संरक्षणका लागि विश्वविद्यालयसँग जग्गा उपभोगको विधिवत्रुपमा सम्झौता भइसकेको जानकारी दिँदै संरक्षण केन्द्रमा छाडा गाईलाई संरक्षण दिएर राखिने बताउनुभयो । बेलझुण्डीमा गाई संरक्षण केन्द्र सञ्चालनमा आएपछि स्थानीयवासीसमेत खुसी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर