तनहुँ- २०२६ सालमा रेखांकन भएको पृथ्वी राजमार्ग गण्डकी प्रदेशबासीको ‘लाइफलाइन’ हो । यही राजमार्गले संघीय राजधानी काठमाडौंसँग गण्डकी प्रदेशको राजधानी पोखरालाई यातायात संजालले जोडेको छ । नौबिसेदेखि पोखराको पृथ्वीचोकसम्म पर्ने पृथ्वी राजमार्ग तनहुँमा मात्र ७२ किलोमिटर छ । मुग्लिनदेखि कोत्रेसम्म पृथ्वी राजमार्ग पर्छ ।
पछिल्ला केही वर्षयता केहीबेर हुने बर्षातले पनि पृथ्वी राजमार्ग जलमग्न हुने गरेको छ । भारी वर्षा भएको बेलामा त राजमार्गमा पर्ने कोत्रे, हलेदी, दुलेगौँडा, बेलचौतारा, खैरेनीटार, थर्पु, अकला, डुम्रे खण्डमा सडकमै खोला बग्छ । पहाडी जिल्लाको सडक तराईको जस्तै जलमग्न हुँदा सवारी चलाउनलाई मुस्किल हुन्छ । सडकमा भलबाढी उर्लंदा ठूला सवारी कम प्रभावित भए पनि साना दुई पांग्रे सवारीमा कष्टपूर्ण तवरले यात्रा गर्न यात्रु बाध्य हुन्छन् ।
गाउँगाउँ जानलाई खनिएका शाखा सडकबाट लेदोसहितको भल सिधै राजमार्गमा आउँदा सडकमै खोला बग्ने गरेको सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी इन्जिनियर नारायण पौडेल बताउँछन् । उनी भन्छन्, ‘शाखा सडकको नालामा बग्ने पानी निकास गर्ने ठाउँ कतै हुँदैन । सिधै राजमार्गमा ल्याएर मिसाइन्छ । राजमार्ग छेउछाउमा बस्ती बसाल्दा पनि धैरतिर नाला बन्द गरिएको हुन्छ । पानीको निकास हुने ठाउँ कतै नभएपछि सडकमा नबगेर पानी कहाँ बग्ने ? सडक नै कुलो जस्तो भएको छ ।’
बर्खायाममा सडक जलमग्न भएर पानी बगिरहँदा छोटो समयमा कालोपत्रे उप्किएर भत्कने समस्या रहेको उनको भनाइ छ ।
राजमार्गबाट शाखा सडक खोल्दा सडक विभागको स्वीकृति अनिवार्य लिनुपर्ने हुन्छ । डोजर लगाएर सडक खन्ने होडबाजीमा रहेका स्थानीय निकायले भने सडकको ट्र्याक खोल्दा आफूखुसी गर्छन् । ‘जथाभावी खनिएका शाखा सडकले राजमार्गलाई भत्काएको पनि छ । अब कडाइ गर्नुपर्ने भएको छ’, उनले भने ।
भू तथा जलाधार संरक्षण व्यवस्थापन कार्यालय तनहुँका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत कृष्णप्रसाद घिमिरे पनि पौडलको भनाइसँग सहमत छन् । प्रत्येक १०० मिटरको दूरीमा खनिएको कच्ची सडकका कारण नै राजमार्ग छोटो समयमै जलमग्न हुने उनले बताए ।
‘अव्यवस्थित ग्रामीण सडक खनिएको छ । माथिमाथिबाट ग्रेगानसहितको भलबाढी राजमार्गमा आइपुग्छ । ग्रेगानले एकातिर पानीको आयतन बढाउँछ, नाला थुनिने समस्या पनि गराउँछ’, उनले भने । शहरी क्षेत्रमा बस्ती बसाल्नलाई पोखरी, खोल्सा, खहरे अतिक्रमण गर्दा पनि पानीको निकास हुने ठाउँ नभएर पछिल्ला वर्षामा यस्ता समस्या बढी देखिएको घिमिरेको भनाइ छ । शहरी क्षेत्रमा बर्षातको पानी व्यवस्थापन चुनौती भएको उनले उल्लेख गरे ।