राजमार्गमा खल्डाखुल्डी नपुरिँदा दुर्घटनाको उच्च जोखिम ,चालकलाई सास्ती — OSNepal

राजमार्गमा खल्डाखुल्डी नपुरिँदा दुर्घटनाको उच्च जोखिम ,चालकलाई सास्ती

Kesh Karki (USA) September 03, 2021 0

सप्तरीस्थित पूर्व–पश्चिम राजमार्गका खाल्डो महिनौँदेखि नपुरिँदा दुर्घटनाको उच्च जोखिम बढेको छ ।राजमार्गमा अधिकांश दुर्घटना खाल्डो छल्ने क्रममा भइरहेको बताइएको छ । गहिरो खाल्डोले दैनिक केही न केही ठाउँमा सवारी दुर्घटना हुने गरेको देखिन्छ । निरन्तरको वर्षाले राजमार्गका कालोपत्र समेत भत्किएको छ । बर्सेनि टालटुलका भरमा चल्दै आएको राजमार्ग हरेक वर्ष वर्षाका समयमा गहिरो खाडल बन्दा सडकमा सवारी चलाउन समस्या हुने गरेको चालक बताउँछन् ।राजमार्गमा खाडल भएकै कारण सानासाना गाडी चलाउन समेत समस्या भएको छ । वर्षाले कंचनरुप नगरपालिकास्थित बरमझीया, हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडा नं ३ पोर्ताहा तथा वडा नं १ भारदहमा पक्की सडक विभिन्न ठाउँमा भत्किएको छ ।

हनुमाननगर कङ्कालिनी नगरपालिकाको पोर्ताहा बजरङ्गबली मन्दिरदेखि बजार चोकसम्म करिब पाँच÷छ स्थानबीच सडक नै भासिएर भत्किएका छन् । उक्त ठाउँमा करिब दुई फिट गहिरो खाल्टो बनेको सडकमा दैनिक रातिका समयमा चल्ने सवारीसाधन दुर्घटना हुने गरेको छ । छ÷सात महिना सो ठाउँमा सडक मर्मतसम्भार गरे पनि कमजोर वा गुणस्तरहीन कार्य गर्नाले वर्ष नलाग्दै पुनःभत्किएको जनगुनासो छ ।भारदह बजारस्थित रहेको शहीद चोकको गोलम्बरदेखि पूर्वपट्टि भागमा सडक भत्किएर ठाउँठाउँमा खाल्डो परेको छ । सो राजमार्गमा जाने सवारीसाधनलाई मोडन घुमाउन अप्ठ्यारो हुने गरेको ट्रक चालक किरपानन्द यादवले बताउनुभयो ।

उहाँ भन्नुभयो, “पश्चिमबाट पूर्व जाने भारदह बजारमा ठूलो खाल्डो नपुरेका कारण दुई महिनादेखि एकतर्फबाट सवारी सञ्चालन भइरहेको छ । बजार क्षेत्रमा सवारीसाधनका लागि दुईतर्फ बनाइएको सडकमध्ये एकतर्फमा जीर्ण सडक भएका कारण अहिले ठूलो खाल्डो बनेको छ ।”सो ठाउँमा एकतर्फबाट मात्र सवारी चलिरहेका कारण झन सवारी दुर्घटनाको जोखिम रहेको ट्रक चालक यादवको भनाइ छ । उक्त ठाउँमा माटोसमेत नदिएको खाल्डोमा पानी जमेपछि सो सडक भएर जाने गाडी पल्टीने गरेको स्थानीयवासीले जनाएको छ ।

यस्तै अवस्था छ– जिल्लाको बरमझिया सडकको । विभिन्न नाका भन्सारबाट समान लोड गरेर ट्रकमा ल्याउन समस्या भइरहेको ट्रक चालक हरि मण्डलले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “महत्वपूर्ण समान ट्रकमा हामी ल्याउँछौँ खाल्डाखुल्डी रहेको सडक निरपुग्दा दुर्घटनामा पर्न सकिन्छ कि डर हुन्छ ।” कतिपय मोटरसाइकल चालक त खाल्डोमै लड्ने गरेका छन्, कतिपयले खाल्डो छल्न खोज्दा अर्को गाडीमा ठोक्किन आइपुग्छन्”, उहाँले भन्नुभयो, “खाल्डोले टायरमा कट लाग्ने र दुर्घटनाको जोखिम भने उत्तिकै छ ।”

कंचनपुरदेखि भारदहसम्मको बाटोमा वर्षाले जीर्ण सडकमा ठूला खाल्डा भएकाले सवारीसाधन सञ्चालनमा समस्या भइरहेको चालकको गुनासो छ । राजमार्गमा खाल्डैखाल्डा बने पनि सम्बन्धित निकायले चासो नदिएको चालक र बसका यात्रुले गुनासो गरेका छन्  । भत्किएको सडकमा दुर्घटनासँगै टायर कट लाग्ने, पट्टा भाँचिनेजस्ता समस्या रहेको जनाइएको छ ।

खाल्डाखुल्डीका कारण मोटरसाइकल, टेम्पु, जीप, कारलगायतका साना सवारीसाधन दुर्घटनामा पर्नेक्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथले जनाएको छ । असार अन्तिमदेखि भइरहेको लगातार वर्षाका कारण पूर्व–पश्चिम राजमार्गका अधिकांश स्थानमा खाल्डो परेको र तीव्र गतिमा चलाइएका सवारी खाल्डोमा परेर गम्भीर किसिमको दुर्घटना हुने खतरा बढेको ट्राफिक प्रहरीको भनाइ ।

त्यस्ता ठाउँमा रात्रिकालीन सवारीसाधन दुर्घटना हुने बढी जोखिम रहेको भन्दै सडकको पुनःनिर्माणमा ढिलाइ देखिएको भारदह निवासी बुदुर रामले गुनासो गर्नुभयो । पूर्व–पश्चिम राजमार्ग पुरानो भइसकेकाले पानी परिरहेका समयमा सवारी गुड्दा कालोपत्र उप्किने समस्या बढ्दै गएको उहाँले बताउनुभयो । पचास वर्षअघि राजमार्गमा बनाइएका पक्की पुलसमेत जीर्ण भएर पुलमासमेत ठुल्ठूला खाडल बनेको पाइएको छ ।त्यस्तै जिल्लाको अन्य ठाउँमा मुख्य राजमार्गमा जीण सडक भएको र ती सडक समयमा मर्मत नहुँदा झन् समस्या गाडी चलाउन समस्या भइरहेको चालक बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर