काठमाडौं, १८ भदौ- एमाले उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आबद्धताका लागि सर्त राखेका छन् । एमालेले अंगीकार गर्दै आएको जनताको बहुदलीय जनवाद (जबज) एकीकृत समाजवादीले अंगीकार गरेर आफूहरु पनि नयाँ पार्टीमा सहभागी हुने गौतमले बताएका छन् ।
शुक्रबार निजी सचिवालयमार्फत प्रेस नोट जारी गरेर गौतमले आफूहरू एकीकृत समाजवादीमा प्रवेश गर्न मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवादका साथै जनताको बहुदलीय जनवाद रहनुपर्ने बताएका हुन् ।
जारी प्रेस नोटमा भनिएको छ, ‘माधवकुमार नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा हामी प्रवेश गर्नका लागि मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनुपर्छ भन्ने एक मात्र सर्तबाहेक अरु कुनै सर्त क.वामदेव गौतमले राख्नुभएको छैन । अन्य सबै प्रकारका प्रचारवाजीहरु गलत भएको जानकारी गराइन्छ ।’