पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन पार्टीको वडाका अधिवेशनले सहयोग पुर्‍याउनेछ — OSNepal

पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन पार्टीको वडाका अधिवेशनले सहयोग पुर्‍याउनेछ

LC (KTM) September 03, 2021 0

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको वडादेखि केन्द्रीय कार्यसमिति तहसम्म लोकतान्त्रिक प्रक्रियामार्फत सबै तहका संरचनामा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने बताएका छन् । पार्टीको १४औँ महाधिवेशनका क्रममा आजदेखि सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सबै तहका संरचनामा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने कांग्रेस पहिलो पार्टी बन्न लागेको बताएका हुन् ।

‘नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व कांग्रेसले नै गर्दै आएको छ । पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि कांग्रेस सधैँ अगाडि रहेको छ । पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन पार्टीको वडाका अधिवेशनले सहयोग पुर्‍याउनेछ’ उनले भनेका छन् ।

क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका विभिन्न वडामा अधिवेशन आरम्भ भएको कांग्रेसले जनाएको छ । क्रियाशील सदस्यता नामावली प्रकाशित हुन बाँकी २१ जिल्लाको सूची पनि क्रमशः प्रकाशित हुँदै जाने र सबै वडाको अधिवेशन यही भदौ २७ गते निर्धारित गाउँ/नगरपालिका अधिवेशनसम्म सम्पन्न हुने पार्टी कार्यालयले जनाएको छ ।

करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ/नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यहरूले आफ्नो वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्नेछन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन अगामी असोज ५ गते तोकेको छ ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर