नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य मापदण्ड अपनाएर कांग्रेसको १४औँ महाधिवेशन सफल बनाउनुपर्ने बताउनुभएको छ ।पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनको पूर्वसन्ध्यामा उहाँले एक विज्ञप्तिमार्फत कोरोनाको महामारी र वर्षाको विषम परिस्थितिमा हुन लागेको महाधिवेशनलाई सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभएको हो । वरिष्ठ नेता पौडेलले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेसभित्र सवल नेतृत्व आवश्यक रहेको जनाउँदै आत्माको पुकार सुनेर निर्णय गर्न आम नेता तथा कार्यकतालाई आग्रहसमेत गर्नुभयो ।
यस्तै पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि आज एक विज्ञप्ति जारी गर्दै कांग्रेस सङ्गठनको मेरुदण्ड भनेकै वडा, क्षेत्र र जिल्ला भएकाले वडामा सक्षम र सशक्त नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो । “लोकतान्त्रिक विधि, प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट वडा अधिवेशनले सक्षम र सवल नेतृत्व चयन गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु”, पूर्वमहामन्त्री सिंहले भन्नुभयो ।
उहाँले संविधानको रक्षा, सङ्घीयता, समावेशीता, समानुपातिक सहभागिता, युवा प्रतिनिधित्वलाई थप मजबुद बनाउन सक्ने र देशलाई गति दिन सक्ने समृद्धिको बाटोमा लैजान सक्ने भिजनसहितको नेतृत्व अहिलेको पार्टीभित्रको आवश्यकता भएको बताउनुभयो । नेता सिंहले कांग्रेस बलियो बन्दा मुलुकको लोकतन्त्र बलियो हुने जनाउँदै कांग्रेसलाई बलियो बनाउन नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना गर्नुभएको छ ।
‘विश्वसनीय र भरोसायुक्त पार्टी बनाउन महाधिवेशनले सहयोग पुग्छ’
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त पार्टी बनाउन महाधिवेशनले सहयोग पुग्ने बताउनुभएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि आजदेखि सुरु भएको वडा अधिवेशनको पूर्वसन्ध्यामा आज एक विज्ञप्ति जारी गरी उहाँले महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई सबल बनाउँदै पार्टीभित्र ताजा अक्सिजनको सञ्चार हुने बताउनुभएको हो ।
उहाँले पार्टीको १४औँ महाधिवेशन उत्सवका रूपमा आएकाले निर्वाचनका माध्यमबाट पार्टीको नयाँ नेतृत्व र प्रतिनिधि चयन गर्दै आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने बताउनुभयो । “कांग्रेसको महाधिवेशन उत्सवका रूपमा मात्र नभई महाधिवेशनले सम्पूर्ण लोकतन्त्रवादीलाई जिम्मेवार र विवेकपूर्णरूपमा अन्तरआत्माको आवाज सुन्न घच्घच्याइरहेको छ”, डा कोइरालाले भन्नुभएको छ ।
कांग्रेसको महाधिवेशन पार्टीको विधान र संविधानभन्दा बाहिर गएर हुने परिस्थिति आउन नदिन सबै सचेत हुनुपर्ने उहाँको भनाइ छ । डा कोइरालाले विगतमा पार्टीभित्र गुट र विभाजनको स्थायी चरित्रका रूपमा बसेको संस्कार हटाउन नसक्दा आम निर्वाचनमा कांग्रेस कम्युनिष्टभन्दा कमजोर भएको जनाउँदै १४औँ महाधिवेशनबाट ‘गुट र गिरोह’ अन्त्य गर्न लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले कांग्रेसको महाधिवेशन देशभित्र मात्र नभएर विदेशमा पनि चासोका साथ हेरिने गरेकाले यसलाई सम्पन्न गर्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने बताउनुभयो ।