उनी कतारमा, गाउँमा पहिरोले परिवारै सखाप — OSNepal

उनी कतारमा, गाउँमा पहिरोले परिवारै सखाप

LC (KTM) September 03, 2021 0

काठमाडौं, १८ भदौ – पर्वतका विभिन्न स्थानमा पहिरोले पुरिएर ज्यान गुमाउनेको संख्या संख्या ६ पुगेको छ । कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोमा पुरिएका एकै घरका पाँच जनामध्ये ३ जनाको शव भेटिएको छ भने २ जना अझै बेपत्ता छन् ।

हिजाे राति सवा २ बजेतिर घरमाथिबाट गएको पहिरोले घर परिदा १५ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ७५ वर्षीया कौशिल्या पौडेलको मृत्यु भएको पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए । शव भेटिएका विमला र विनिता दिदीबहिनी हुन् भने कौशिल्या उनीहरूको हजुरआमा हुन् ।

कौशिल्याको बुहारी भगवती पौडेल र उनका छोरा विनोद बेपत्ता छन् । वडा नम्बर ३ का अडा अध्यक्ष यमशर्मा पौडेलले स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ताको खोजी गरिरहेको जानकारी दिए ।

शर्माका अनुसार ६ जनाको परिवारमा घरमुली रामप्रसाद भने वैदेशिक रोजगारीका शिलशिलामा कतारमा छन् । ‘राजप्रसाद विदेश गएको पनि ६ महिना पुगेको छैन, यता घरमा ठूलै बज्रपात आइलागेको छ,’ शर्माले भने, ‘गाउँमा निकै सहयोगी मान्छे थिए उनैमाथि यस्तो बज्रपात आइलाग्यो ।’ घटनाले सिंगो गाउँनै शोकमा डुबेको उनले सुनाए ।

शर्माका अनुसार गाउँकै माधव पौडेल सोही घरमा बस्दै आएका थिए । पहिराले उनी बसेको कोठामात्रै बचेको छ । उनैले होहल्ला गरेपछि गाउँलेले थाहापाएको शर्माले बताए । गाउँमा अरू ३ घर पनि पहिराेकाे उच्च जाेखिममा रहेकाे शर्मा जानकारी दिए ।

यस्तै कुश्मा नगरपालिका–११ पकुवामा पनि पहिरोमा पुरिएर आमा छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश रहेका छन् ।

यस्तै मोदी गाउँपालिका–५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीय ठुलीमाया थापाको पनि मृत्यु भएको पर्वत प्रहरीले जनाएको छ । उनी घरमा एक्लै सुतेको बेला पहिरो गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर