मुगु, १७ भदाै -हिमाली जिल्ला मुगुका सरकारी कार्यालयका कर्मचारीहरुले पोशाक भत्ताको दुरुपयोग गरेको पाइएको छ । शिक्षक र कर्मचारीले वर्षेनि पोशाक भत्ताको दुरुपयोग गर्ने गरेको पाइएको हो । सरकारले निजामति कर्मचारीलाई १५ हजार र शिक्षकलाई १० हजार रुपैयाँ पोशाक भत्ता प्रदान गर्दे आरहेको छ । तर, उनीहरुको पोषाकको दुरुपयोग गरेका हुन ।
जिल्लामा रहेका सरकारी कार्यालयका कर्मचारीहरुले पाँच प्रतिशत मात्र पोशाक लगाउने गरेको भेटिएको हो । सरकारी कर्मचारी पोशाक नलगाएरै कार्यालय जाने गरेको भेटिएको छ । पोशाक नलगाएर अधिकांश कर्मचारीले सरकारी सुविधाको दुरुपयोग गरिरहेका छन् । पोशाक नलगाएर कार्यालयमा आएका कर्मचारीलाई स्पष्टीकरण सोधिने सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले न्युज कारखानालाई जानकारी दिए ।
उनकाअनुसार यसको विषयमा प्रशासनले अनुगमन पनि गरेको थियो उक्त अनुगमनमा खानेपानी, वन डिभिजन, कोलेनिका, मालपोत, हुलाक, अदालत लगायत एक दर्जन कार्यालयमा अनुगमन गर्दा यस्तो अवस्था भेटिएको बताए । अनुगमनका क्रममा जिल्ला अदालतका केही कर्मचारीले मात्र पोशाक लगाउने गरेको पाइएको छ । कतिपय कार्यालयमा कार्यालय प्रमुखले पनि पोशाक नलगाएर कार्यालय आएको बताए ।
पोशाकले कर्मचारीलाई जिम्मेवार बनाउने भन्दै उनले सेवाग्राहीले पनि सजिलै कर्मचारी चिन्न सकिने बताए । अनुगमन गरिएका कार्यालयमा अनिवार्यरूपमा परिचयपत्र लगाउन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए । उनकाअनुसार स्थानीय तहमा पनि पोशाक नलाएरै कार्यालय जाने प्रवृत्ति बढेको छ । उनले छिट्टै स्थानीय तहमा पनि अनुगमन गरिने जानकारी दिए । मुगुमा करिब दुई सय ५० निजामती कर्मचारी कार्यरत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लामा चार सय ४५ जना शिक्षक कार्यरत छन् । उनीहरू पनि पोशाक नलगाएरै विद्यालय जाने गरेका छन् । अहिले कोरोनाका कारण विद्यालय बन्द छन् । स्थानीय अगुवा कमल मल्लले विद्यालय खुलेको बेला अधिकांश शिक्षकले पोशाक लगाएको नदेखिएकाे बताए ।
शिक्षा विकास तथा समन्वय इकाइकाअनुसार मुगुमा प्रावि तहमा तीन सय ३५, माविमा ४५ र निमावि तहमा ६५ जना शिक्षक–शिक्षिका कार्यरत छन । अधिकांश शिक्षकले पोशाक भत्ता लिए पनि पोशाक नलगाउने गरेको इकाइ प्रमुख सूर्य खत्रीले बताए ।