तटबन्ध कार्यालय कर्मचारीविहीनः सेवाग्राही मर्कामा — OSNepal

तटबन्ध कार्यालय कर्मचारीविहीनः सेवाग्राही मर्कामा

Kesh Karki (USA) September 02, 2021 0

महोत्तरीको जलेश्वरस्थित जनताको तटबन्ध फिल्ड कार्यालय–२ कर्मचारीविहीन बनेको छ ।कर्मचारीको अभावमा कार्यालयको काम कारवाही प्रभावित भएको छ । कार्यालयमा प्रमुख, तीन इञ्जिनीयर, तीन सव इञ्जिनीयर, एक लेखापाल र चार जना कार्यालय सहयोगी कार्यरत छन् । गत असारपछि कार्यालय प्रमुख र अन्य कर्मचारी आएका छैनन् ।कार्यालय प्रमुख राजेन्द्रप्रसाद देव प्रायः काठमाडौँमै बस्नुहुन्छ भने उहाँको अनुपस्थितिमा अनिवार्य रुपमा कार्यालयमा हुनुपर्ने सूचना अधिकारी इञ्जिनीयर सुशील चौधरी पनि गत असारपछि आफ्नो घर जनकपुरमै बसिरहनुभएको बताइएको छ ।

सो कार्यालय अहिले तीन जना कार्यालय सहयोगीको भरमा सञ्चालनमा छन् । जिल्लामा बाढी आएपछि सो कार्यालयमा कार्यरत कर्मचारीको खोजीनीति सुरु भएको छ । विगत १० दिनमा महोत्तरी जिल्लाको रातो नदीमा ठूलो बाढी आएर सो कार्यालयले निर्माण गरेको तटबन्ध भत्काएर जिल्लाको बलवा नगरपालिका–४ को तिलगढ, रौजा र वडा नं ११ अधियानपुर गाउँका एक हजार बढी घर डुबानमा परेर लाखौंको क्षति भएको छ भने सयौं बिघा धानखेती नष्ट भएको छ ।

अख्तियारप्राप्त कर्मचारी नहुँदा सेवाग्राहीको काम गर्न समस्या भएको त्यहाँ कार्यरत कार्यालय सहयोगीको भनाइ छ । महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले कार्यालयमा कर्मचारी उपस्थित नहुनु गलत भएको बताउँदै त्यस्तो रहेछ भने आफूले कार्यालय निरीक्षण गर्ने र यस सम्बन्धमा कार्यालय प्रमुखसंग पनि जानकारी लिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर