काठमाडौं । ट्राफिक नियम उल्लंघनकर्ताले अब बैंकमा गएर जरिमानाबापतको रकम तिर्नुपर्ने समस्या हट्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालकले क्यूआर कोडबाटै जरिमाना भुक्तानी गर्न पाउने व्यवस्था गरेकाले यो समस्या हट्न लागेको हो । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
महाशाखाले आज बिहीबारदेखि औपचारिक रूपमा यो कार्यक्रमको थालनी गर्ने भएको छ । ट्राफिक प्रहरीले यसका लागि क्यूआर कोडबाट पनि भुक्तानी गर्न मिल्नेगरी सफ्टवेयर विकाससमेत गरेको छ । डिउटीमा खटिएका ट्राफिक प्रहरीले अब सवारी नियम उल्लंघन गर्ने चालकलाई क्यूआर कोड भएको चिट दिनेछ । त्यसपछि नियम उल्लंघनकर्ताले सोही क्यूआर कोडमार्फत मोबाइलबाटै भुक्तानी गर्न सक्नेछन् ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले यो नयाँ व्यवस्थाले जरिमाना तिर्न बैंकमै जानुपर्ने बाध्यता अन्त्य भएको बताए । उनले सवारी नियम उल्लंघन गरेका चालकले अब क्यूआर कोडमार्फत सरकारी राजस्व खातामा रकम जम्मा गर्न सक्ने जानकारी दिए ।
उनले भने, ‘जरिमाना ठाउँको ठाउँ मोबाइलबाटै भुक्तानी गर्न सकिनेछ ।’ क्यूआर कोडलाई क्विक रेस्पोन्स कोड भनेर पनि बुझ्न सकिन्छ । यो सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजलजस्तो देखिन्छ । क्यूआर कोडमा ब्रान्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठूलो डेटा क्षमता, बैंकको खाता नम्बर भएको प्रविधिले पहिचान गर्न सक्छ ।