क्यान्सरको उपचार गराइरहेका प्रशिक्षक नवीनको बुबाआमाको उपचारमा सन्तोषको सहयोग — OSNepal

क्यान्सरको उपचार गराइरहेका प्रशिक्षक नवीनको बुबाआमाको उपचारमा सन्तोषको सहयोग

LC (KTM) September 02, 2021 0

काठमाडौं, १६ भदौ- पूर्वराष्ट्रिय फुटबल खेलाडी सन्तोष साहुखलले क्यान्सरको उपचार गराइरहेका नवीन न्यौपानेका बुबाआमाको उपचारको लागि ५३ हजार रुपैयाँ सहयोग गरेका छन् ।

थ्रीस्टार, एपीएफ, मनाङ मर्स्याङदी र च्यासल क्लबबाट खेलेका सन्तोष सन् २०१५ यता जापानमै बसोबास गर्छन् । उनले पठाएको उक्त रकम उनका दाई बालगोपाल साहुखलले बुधबार नवीनलाई हस्तान्तरण गरे । त्रिभुवन आर्मी क्लबका प्रशिक्षकको रुपमा कार्यरत नवीनले २०६८ सालमा मनाङमा सन्तोषसँगै खेलेका थिए ।

नवीनले २०६४/०६५ मा एनआरटीबाट बालगोपालसँग पनि खेलेका थिए । ‘बाआमाको स्वस्थ्य अहिले राम्रो भइरहेको छ,’ नवीनले भने, ‘यसक्रममा धेरैले सहयोग गरेका छन् । यसले जिन्दगी नै फुटबलमा बिताएर राम्रै गरेछु भन्ने लागिरहेको छ । सन्तोषसहित सबैलाई धन्यवाद ।’

सन्तोषले जापानको गैरसरकारी संस्था रियाले वर्ल्ड एनपीओको लागि ‘रोल मोडल’ को रुपमा व्यावसायिक खेलाडी बन्न चाहने बालबालिकालाई फुटबल प्रशिक्षण दिनेसँगै गाइड पनि गरिरहेका छन् । उनले स्वदेश फर्केर पछिल्ला दुई सिजन सहिद स्मारक ‘ए’ डिभिजन लिग च्यासल युवा क्लबबाट खेलेका थिए । त्यसक्रममा उनी ए डिभिजन लिगमा १०० गोल गर्ने पहिलो भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर