सभ्य र सुसंस्कृतको पाठ सिकाउने ज्ञानकुञ्जको केन्द्र पुस्तकालय’ — OSNepal

सभ्य र सुसंस्कृतको पाठ सिकाउने ज्ञानकुञ्जको केन्द्र पुस्तकालय’

Kesh Karki (USA) September 01, 2021 0

पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालयले पुस्तकालय २१औँ शताब्दीको मुटु भएको बताउनुभएको छ ।‘सबल समाजको आधारः सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने नारासहित १४औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा मङ्गलबार पोखरा विश्वविद्यालयमा आयोजित कार्यक्रममा उहाँले सभ्य र सुसंस्कृतको पाठ सिकाउने ज्ञानकुञ्जको केन्द्र पुस्तकालय भएको बताउनुभयो ।शैक्षिक अनुसन्धान र गुणस्तर प्रवद्र्धन गर्ने प्रमुख माध्यमका रुपमा पुस्तकालयलाई चित्रण गर्दै उहाँले यसको व्यवस्थापनलाई हलुका ढङ्गले लिन नहुनेमा जोड दिनुभयो ।

पोखरा विश्वविद्यालयका रजिष्ट्रार डा दीपकबहादुर भण्डारीले पुस्तकालयलाई सफा, स्वच्छ र व्यवस्थित बनाउनुपर्ने उल्लेख गर्नुभयो । पुस्तकालयको वातावरणलाई पठनयोग्य तुल्याउनुपर्नेमा जोड दिँदै उहाँले कस्तो पुस्तकालय बनाउने, कस्तो जनशक्ति चाहिने भन्ने कुरा इच्छाशक्तिसहित योजनाबद्ध तरिकाले आउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन डा अजय थापाले पुस्तकालयको विकास र विस्तारका लागि पुस्तकालयमा पढ्ने कक्षका अलवा मनोरञ्जन लिने र सामूहिक छलफल गर्ने छुट्टाछुट्टै कक्ष बनाउनुपर्नेमा जोड दिनुभयो ।

पोखरा विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन डा दयाराज ढकालले पुस्तकालयलाई सबैको पहुँचमा पु¥याउन यसको उपयोगलाई राष्ट्रव्यापी तुल्याउनु पर्ने आवश्यकता रहेको बताउनुभयो ।स्वास्थ्य विज्ञान सङ्कायका डिन डा अमर नागिला, परीक्षा नियन्त्रक डा तुल्सीराम भण्डारी, स्कुल अफ डेभलपमेन्ट एन्ड सोसल इन्जिनियरिङका निर्देशक डा रामप्रसाद अर्याल, स्कुल अफ बिजनेसका निर्देशक डा श्रृजन ज्ञवाली, स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका निर्देशक विमला भट्ट, योजना तथा कार्यक्रम महाशाखाप्रमुख डा दीपकराज पौडेल, पोखरा विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख उपप्रशासक (पुस्तकालय) हेमन्तराज कँडेल लगायतले पुस्तकालयको महत्व सम्बन्धमा आ–आफ्ना धारणा राख्नुभयो ।

जम्मा तीन सय पाठ्यपुस्तकबाट २०५६ सालमा स्थापित पोखरा विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा हाल ३४ हजारभन्दा बढी पाठ्यपुस्तक रहेको उक्त अवसरमा जानकारी दिइयो । पुस्तकालयलाई ई–रिसोर्सेजलगायत अन्य पाठ्यपुस्तक, जर्नल, न्युजपेपर, पुराना प्रश्नपत्रहरूको सँगालोका साथै इलेक्ट्रोनिक भर्सनका पाठ्यपुस्तक र शोधपत्रले व्यवस्थित पारिएको जनाइएको छ । कार्यक्रममा पुस्तकालयतर्फ उत्कृष्ट स्कुल अफ इन्जिनियरिङका कम्प्युटर इन्जिनियरिङ विषयका छात्र अमित ढकाललाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर